
आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताह’ आयोजना गरेका छन् ।
उक्त सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल, चिकित्साशास्त्र अध्ययन संस्थानका सहायक डिन प्राडा प्रदीप वैद्य, आयुर्वेद क्याम्पसका क्याम्पस प्रमुख डा. शिव मंगल प्रसाद लगायत अन्य शिक्षाविद्हरु उपस्थित थिए ।
कार्यक्रममा भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारको पनि उपस्थित थिए ।
उनले विशेषगरी कोभिड–१९ महामारीको समयमा आयुर्वेदको उपयोगिताबारे प्रकाश पारेका थिए । वेबिनारमा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्र्थीको सहभागीता रहेको भारतीय दूतावासले जनाएको छ ।
अष्टांगम आयुर्वेद चिकित्सालयम र विद्यापीठम, केरला, भारतका प्रधानाध्यापक र प्रमुख चिकित्सक प्रा डा अलाथियुर नारायणन नाम्बी, र इन्स्टिच्युट अफ इन्डिजिनस मेडिसिन, कोलम्बो विश्वविद्यालय, श्रीलंकाका डा एस.एम.एस समाराकुनले मुख्य वक्ताको रूपमा आफ्ना विचार प्रस्तुत गरेका थिए ।
यो कार्यक्रम भारतको स्वतन्त्रताको ७५ वर्षको उपलक्ष्यमा वर्षभरी मनाउन गइरहेको आजादीको अमृत महोत्सवको एक हिस्साको रूपमा आयोजना गरिएको दूतावासले जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit