
नेकपा एमालेबाट प्रदेश १ को मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा उनले राजीनामा दिएका हुन् ।
एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि आचार्य अल्पमतमा परेका थिए । प्रदेशसभामा आफ्नो पक्षमा बहुमत जुटाउन नसक्ने भएपछि विश्वासको मतको सामना गर्नुको साटो उनले राजीनामा दिएका हुन् ।
‘मैले सुरूमै राजीनामा दिन सक्थे। तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ। कामलाई महत्वपूर्ण रूपमा राखियो,’ प्रदेश सभामा बोल्दै आचार्यले भने, ‘आलोचना गर्नेले पनि सहयोग नै गर्नुभएको छ। म आजै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु।’
आचार्यको राजीनामा सँगै प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न समय दिने भए पनि विपक्षी गठबन्धनले आजै हस्ताक्षर संकलन गरेर बुझाउने तयारी गरेका हुन् ।
आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । बैठकमा आचार्यले आफ्नो सरकारले गरेका कामबारे जानकारी गराएका छन् ।
विपक्षी गठबन्धनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् । आइतबार बसेको गठबन्धनको बैठकले मुख्यमन्त्री आचार्यले राखेको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक थियो । ९२ सदस्यीय प्रदेशसभामा सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १/१ जना प्रदेश सांसद छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit