
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन् । सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन् ।
संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भुमिका प्रभावकारी रुपमा खेल्न नसकेको उनको आरोप थियो ।
राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरुले आफ्नो भुमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाई छ । उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफु लागि पर्ने पनि बताए ।
देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनले बताए ।
उनले भने, ‘आज संसद चल्न नसकेर अस्ति भर्खरै संसद स्थगित भएको छ । अदालतको त्यो अवस्था छ । अरु संवैधानिक निकायहरु त्यस्तै हालतमा छन् । राजनीतिक पार्टीहरुको त्यो हालत छ । आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरु नै नेपाली जनताको भरोसाको केन्द्र हुन् । तर राजनीतिक पार्टीहरुको अवस्था के छ ? कम्युनिष्ट पार्टीको हालत हामीले देखिहाल्यौँ । त्यत्रो दुई तिहाइ बहुमत ल्याएर पनि त्यो चकनाचुर भएर गइराखेको छ । नेपाली कांग्रेसले पनि जुन किसिमको भुमिका निर्वाह गर्नुपर्ने हो त्यो नसकेकोमा म आफैँ पनि स्वीकार गर्छु । नेपाली जनतालाई भरोसाको केन्द्र बन्ने भुमिका कांग्रेसले अझैपनि निर्वाह गर्न सकिरहेको छैन । त्यो नसकेको कुरा मलाई चिन्ता छ । म कांग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाउने, कसरी यो प्रजातन्त्रको दरिलो सम्वाहक बनाउने, कसरी लोकतन्त्रलाई मजबुद गराएर लोकतन्त्रको वारेस कांग्रेसलाई बनाएर र यो मुलुकमा लोकतन्त्रलाई सुनिश्चित गर्ने । यसका संस्थाहरु त्यही अनुसार फङ्सनमा आउनुप¥यो । पार्टीको सञ्चालन, अधिवेशनहरु व्यवस्थित रुपले चलेको हुनुप¥यो । देशको संवैधानिक निकायहरु व्यवस्थित रुपले चलेको हुनुप¥यो । राज्यसत्ता सिस्टममा चलेको हुनुप¥यो । देशको अदालत एउटा मर्यादामा रहेको हुनुप¥यो । आज यि सबै कुराहरुमा कहिँ न कहिँ प्रश्न उठिरहेको अवस्था छ ।’
वरिष्ठ नेता पौडेलले आफुले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिडेको बताए ।
वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने बताए ।
नेता पौडेलले भने ‘मेरो एजेण्डा नै लोकतन्त्र हो । अहिले मेरो एजेण्डा नै लोकतन्त्र हो । फेरीपनि लोकतन्त्र एजेण्डा बनाउनुपर्नुमा यसमा मलाई दुख छ । किनभने लोकतन्त्रको एजेण्डाको मुद्दालाई छिनोफानो गरेर त्यसलाई एउटा सुनिश्चिततामा गयौँ भनेर अब हामी आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने थियो । हामी अझैपनि राजनीतिक कुराकै टुंगोमा अल्मल्लिनुपर्ने यो दुखद कुरा हो । तरपनि अब यसमा हिम्मत हार्नु हुँदैन । हामी राजनीतिक व्यवस्थाको छिनोफानो भइसकेको कुरालाई सुनिश्चितता, यो आएको परिवर्तनलाई जोगाउने काम, आएको परिवर्तन र आएको व्यवस्था, यो व्यवस्थालाई सुनिश्चितता दिने काममा अहिले हामीले काम गर्नुपरेको छ ।’
नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको बताउनुभयो । बर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit