
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका सांसद सुरेन्द्र प्रसाद पाण्डेले कर्मचारीको तलव १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महंगीको हिसाबमा कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि हुने ठिकै भए पनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलव वृद्धि हुनु न्यायोचित नभएको बताएका हुन् । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन् । अध्यक्ष लिङदेनले ललिपपजस्तो मानिसहरुलाई भूल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका हुन् ।
उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दाबी गरे । ‘बजेटको कुरा गर्दा अहिले मात्रै हामीले वितरणमुखी बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो ? भनेर टार्ने र जवाफ दिने खालको आउँछ । यो कसैको लागि पनि सुखद कुरा होइन । यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन,’ उनले भने ।
माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गरे । बजेटका हरेक बुँदाको नियत के हो भनेर सोध्ने छलफलले कतै नपुगिने उनले बताए ।
सत्तारुढ दलका सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले पपुलिष्ट बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि उनले स्पष्ट पारे । उनले उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रस्तुत गरिएको जनाए ।
सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले मधेश प्रदेशको लाईफलाईनको रुपमा रहेको हुलाकी राजमार्गमा बजेट थोरै विनियोजन गरेको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न पनि अर्थमन्त्रीलाई आग्रह गरे ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १३ मंसिरमा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit