Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

बेलायत प्रहरीद्वारा नेपालबाट हराएका दुई मूर्ति फिर्ता

नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित हस्तानान्तर समारोह । तस्विर सौजन्यः डा इमिलिन स्मिथको ट्वीटर

नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।


नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो ।


सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो । यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो ।

 

गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनःप्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।


मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको दूतावासले जनाएको छ ।

 

बेलायत प्रहरीका तर्फबाट आफ्नो भनाइ राख्दै डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुसी लागेको बताए ।

 

हस्तान्तरण गरिएका मूर्ति चाँडै नै नेपालको पुरातत्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी गराएको नियोग उपप्रमुख रोशनी खनालले जानकारी दिइन् ।

 

ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताइन् ।  

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै