Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

गण्डकीमा विकास र समृद्धिका कार्यको राम्रो सुरुवात ः पृथ्वीमान गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सरकारमार्फत जनताको अपेक्षा अनुसारको धेरै कामहरु हुन बाँकी रहेको बताएका छन् ।

 

 

बुधबार गण्डकी प्रदेश सरकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख गुरुङले जनताको अपेक्षा अनुसारको काम प्रदेश सरकारमार्फत हुनै बाँकी रहेको बताएका छन् । यद्यपी, प्रदेश सरकारमार्फत् ऐन, कानुनको निर्माण हुनुका साथै विकास र समृद्धिको कामको भने सुरुवात भएको उनले बताएका छन् । 

 

 

‘प्रदेश सरकार मार्फत भएका कार्यहरुको प्रदेशका स्थापनाका प्रारम्भिक खाकाहरु तयार भएपनि त्यो पूर्ण हुन सकेको छैन । जनताको जुन चाहाना र लक्ष्य अनुसार प्रदेशको स्थापना भयो । त्यो लक्ष्य हासिल गर्न हामीले प्रदेश सरकार मार्फत् धेरै कार्यहरु गर्न बाँकी छ । प्रदेश सरकारका माध्यमबाट सञ्चालन हुने ऐन, कानूनहरु निर्माणका साथै जनताका घरदैलोमा प्रदेश सरकारका माध्यमबाट हुने विकास र समृद्धिका कार्यहरुको राम्रो सुरुवात भएको छ’ उनले भने ।

 

 

उनले संघीयताको संस्थागत बिकासका लागि प्रदेश र स्थानीय तहको जग बलियो हुनुपर्ने  बताएका छन् । प्राप्त उपलब्धिको रक्षाका लागि सबै पक्ष एकजुट हुन उनले आग्रह गरेका छन् । 

 

 

त्यसैगरी कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा सत्तापक्ष र प्रतिपक्षबिच द्वन्द नभई विशुद्ध राजनीतिक प्रतिस्पर्धा रहेको बताएका छन् । उनले प्रदेशको राजनीति परिपक्व, लोकतान्त्रिक र जनउत्तरदायी भएको उल्लेख गरेका छन् । 

 

 

‘गण्डकी प्रदेशको राजनीति निकै परिपक्व र लोकतान्त्रिक तथा जनउत्तरदायी छ । हामी सत्तापक्ष र प्रतिपक्षका बिचमा अस्वभाविक विभेद, द्वन्द छैन । हाम्रो बिचमा विशुद्ध राजनीतिक प्रतिस्पर्धा छ । त्यो अत्यन्त मर्यादित र प्रतिफलयुक्त छ भन्ने मलाई लाग्दछ’ उनले भने ।

 

 

उनले प्रदेश स्थापना भएको छोटो समयमा नै सरकारले जनताको मन जित्न सफल भएको दाबी गरेका छन् । सरकारले गरेका बिकास, निर्माण तथा सेवा प्रवाहले प्रदेश सरकारको महत्व जनताले आत्मसात् गरेको उनले बताएका छन् । उनले संविधानले प्रदेशलाई दिएको जिम्मेवारी पूरा गर्नका लागि पर्याप्त अधिकार उपयोग गर्न नपाएको पनि बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै