
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् ।
बिहीबार आफ्नै निवासमा सञ्चारकर्मीहरुसँग बोल्दै नेता पौडेलले सांसदको नक्कली पीसीआर रिपोर्ट बनाउने स्वास्थ्य संस्थामाथि कारबाही हुनुपर्ने भन्दै घटनाको छानबिन गर्न माग गरे । गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा जनमोर्चाका सांसद खिमविक्रम शाही फोन स्वीच अफ गरी गायब भएका थिए ।
नेता पौडेलले एमालेले जनमोर्चाका सांसद शाहीलाई अपहरण शैलीमा अस्पतालमा लगेर बन्धक बनाउनु राजनीतिक सिद्धान्त र निष्ठामा रहेको जनामोर्चा जस्तो पार्टीको आदर्शमाथि प्रहार गरेको आरोप लगाए । खिमविक्रम शाही प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने पनि नेता पौडेलले बताए ।
‘किर्ते नक्कली बहाना बनाएर, अघिल्लो दिनमा कोरोना नेगेटिभ भएको मान्छे भोलिपल्ट कसरी पोजेटिभ हुन्छ ? यसमा षड्यन्त्र छ । मैले भन्ने गरेको छु विभिन्न तरिकाले पैसा कमाउने, पैसाले सत्तामा पुग्ने, सत्ता चलाउने, यो लोकतन्त्रको धज्जी उडाउने काम भयो । खिम बिक्रम शाही प्रकरण लोकतान्त्रिक मुलुकका लागि गम्भीर प्रश्न हो । यो देशको व्यवस्थामा यस्ता खेल, किर्ते जालसाजी खेल, अलोकतान्त्रिक षड्यन्त्रको छानबिन हुनुपर्छ,’ उनले भने ।
नेता पौडेलले जनमोर्चाले आफ्नो निष्ठालाई जोगाउनका लागि पनि सांसद शाहीमाथि तत्काल कारबाही गर्नुपर्ने बताए ।
स्थानीय प्रशासन, संघीय सरकार स्वयं यसमा सहभागी भएको नेता पौडेलले बताए । ‘यहाँ त सिडियो पनि लागेको, माथिल्लो सत्ता पनि लागेको, अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै संसद नै स्थगित गरेर मुख्यमन्त्री काठमाडौं आएको, यो सबै खेल र प्रपञ्चले नक्कली खेल सबैको पर्दाफास भएको छ । नेकपा एमालेको षड्यन्त्र गण्डकीको संसदमा पर्दाफास भएको छ,’ उनले भने ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद शाही अस्पतालको ’आईसीयू’मा भर्ना भएका थिए । मंगलबारसम्म सकुशल रहेका शाही मत विभाजन हुनुअघि अस्पतालको आइसीयुमा भेटिनु शंकास्पद देखिन्छ ।
राष्ट्रिय जनमोर्चाको ३ सांसदले प्रस्तावको पक्षमा मतदान गर्दा गुरुङ सरकार ढल्ने निश्चित थियो । कोरोना संक्रमण भएको भन्दै चरक अस्पतालमा भेटिएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit