Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

अनियमितताको आरोप लागेकालाई केयुको उपकुलपतिमा सिफारिस !

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको तीन सदस्यीय समितिले काठमाडौं विश्वविद्यालय (केयु) को उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिस्पर्धी चार दर्जनमध्ये उनीहरुको नाम सिफारिस भएको हो ।

 

सिफारिसमा पर्नेमा विश्वविद्यालयका हालका उपकुलपति डा. रामकण्ठ माकाजु, पूर्वरजिष्ट्रार डा. भोला थापा र स्कुल अफ एजुकेसन (शिक्षा) विभागका प्राध्यापक बालचन्द्र लुइँटेल छन् । माकाजुको दोस्रो कार्यकाल बुधबारदेखि सकिँदै छ । उनी तेस्रोपटक उपकुलपतिका लागि सिफारिस भएका हुन् । 

 

अब विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ सिफारिस पुग्ने र उनैले यीमध्ये एक जनालाई नियुक्त गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । सिफारिस समितिमा शिक्षामन्त्रीका अलावा केयुका पूर्व उपकुलपति सुरेशराज शर्मा र केयुको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना सदस्य थिए ।

 

दुई पटक उपकुलपति भइसकेका डा. माकाजुले आफ्नो कार्यकालमा धुलिखेल अस्पताल स्थापना र सफलतापूर्वक सञ्चालन गरेका छन्, तर विभिन्न अनियमितताको आरोपमा पनि उनी मुछिएका छन् ।  

 

नियमविपरीत मेडिकल कलेजलाई सम्बन्धन र शुल्कका कारण उनी विवादमा तानिएका थिए । उनीमाथि विश्वविद्यालयको रकम अपचलन गरेको लगायत आरोप छ । 

 

माकाजुको कार्यशैलीप्रति विमति राख्दै विश्वविद्यालयका कर्मचारी तथा प्राध्यापक आन्दोलित हुँदै महिनौं पठनपाठन ठप्प भएको थियो । त्यसक्रममा उनले ‘एक व्यक्ति एक पद र अधिकतम दुई कार्यकाल’ को पद्धति कायम गर्ने प्रतिबद्धता जनाएर सम्झौता गरेका थिए । 
एउटै व्यक्तिलाई पटकपटक जिम्मेवारी दिन नहुने विश्वविद्यालयका कर्मचारी तथा प्राध्यापकहरुको भनाइ छ । 

 

सिफारिस समितिले केयुको उपकुलपतिका लागि सिफारिस गरेको प्राध्यापक लुइँटेलमाथि पनि भ्रष्टाचार तथा अनियमिता गरेको आरोप छ । विश्वविद्यालय स्कूल अफ एजुकेसनमा अध्यनरत विद्यार्थीसँग प्राज्ञिक सहयोग गरिदिने भन्दै लाखौं रुपैया लिई भ्रष्टाचार गरेको स्रोतको भनाइ छ ।

 

उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि अनियमितता र भ्रष्टाचारको आरोपमा उजुरी परेको छ । उजुरीमा नर्वे सरकारको सहयोगमा जारी प्रोजेक्टको पीआईको हैसियतमा लाखौं रुपैंया भ्रष्टाचार र अनियमितता गरेर अकुत सम्पत्ति आर्जन गरेको र कर समेत छली गरेको जनाइएको छ ।

 

त्यस्तै, राजनीतिक दबाब र पहुँचका आधारमा विश्वविद्यालयमा मनोमानी गरेको हुँदा आवश्यक कारबाहीका लागि पहल गरिदिन पनि उजुरीमा अनुरोध गरिएको छ ।

 

 

नर्वेजियन प्रोजेक्टमा फेलोसिपमा अध्यनन गरिरहेका पीएडी विद्यार्थीबाट प्रति विद्धर्थी २ लाख रुपैयाँ दिन दबाब दिएको र त्यसका लागि छनौट समितिमा डिन र अन्य शिक्षकहरुलाई डा लुइँटेलले भनेकै व्यक्ति छान्न दबाब दिने गरेको पनि उजुरीमा उल्लेख छ ।

 

डा. माकाजुले आफूमाथि लागेको आरोप निराधार रहेको बताए । उनले आरोप लगाउनेसँग कुनै प्रमाण नरहेको भन्दै उनल पद र पैसाका लागि भन्दा पनि आफूले पाएको जिम्मेवारीअनुसार काम गर्ने बताए । 

 

शिक्षाविद् मनप्रसाद वाग्ले भने केयुको गुणस्तर पछिल्लो समय खस्कँदै गएको बताउँछन् । राम्रा व्यक्ति केयु छोड्दै गरेकाले योग्य र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपने उनको भनाइ छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै