Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

दाहालले ढाडमा टेकेर टाउकोमा हान्न खोज्दा अहिलेको परिस्थिति आयो : एमाले महासचिव पोखरेल (अन्तर्वार्ता)

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र विभिन्न कारणले सृजना भएका अन्तरविरोधमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सेकताप’ गरेका कारण वर्तमान स्थिति उत्पन्न भएको बताएका छन् । पार्टी अध्यक्ष एवं महासचिवले भेला नगर्न दिएको निर्देशन विपरीत वरिष्ठ नेता माधव नेपाल र नेता झलनाथ खनाल पक्षले राष्ट्रिय कार्यकर्ता आयोजना गरेको सन्र्दभमा उनले यस्तो टिप्पणी गरेका हुन् । 

 

अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त दाहालले एमालेभित्रका अन्तरविरोधलाई प्रयोग गरेको उनको दाबी छ । एमालेमा अहिले उत्पन्न परिस्थितिको बीजारोपण, कम्युनिष्ट आन्दोलन तथा वर्तमान समस्याको समाधानबारे महासचिव पोखरेलसँग न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश :

 

नेकपा एमालेभित्र के भएको हो अहिले ?

एमालेमा के भइरहेको छ भन्ने देखिएको नै छ । हिजो एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण स्वरुपमा हेर्दा अत्यन्तै राम्रो थियो, किनभने जनता र कार्यकर्ताले चाहेको, राष्ट्रिय आवश्यकता पनि पूरा हुने । राजनीतिक स्थायित्वका लागि त्यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने अनुमान थियो । तर सारमा विचारलाई व्यवस्थित गर्ने काम अलिकति पनि भएको थिएन । संगठन र नेतृत्व व्यवस्थित भएको थिएन ।

 

किन त्यस्तो आलोकाँचो निर्णय भयो त ?
 

पार्टी एकीकरण गर्ने सन्दर्भमा जुन नेतृत्व केन्द्रहरु थिए, ती केन्द्रहरुमा रहेका आग्रहहरु हावी भए, जसले महान र पवित्र एकता परिपक्व हुन नपाईकनै सम्पन्न भएको थियो । त्यसकारणले एकताको बेलामा जुन भ्रुणहरुमा समस्या थिए, त्यही समस्या प्रकट भयो अहिले । त्यसको उत्कर्षमा पुगेको हो अहिले ।

 

अर्को कारण एमालेभित्र हिजोदेखि नै लोकतान्त्रिक अभ्यास गर्ने नाममा  पक्षधरता, गुटबन्दीको स्थिति थियो । त्यो गुटबन्दी माथिदेखि तलसम्म नै थियो । त्यसलाई व्यवस्थित गरिसकेका थिएनौं । त्यही व्यवस्थित गरिनसकेकै अवस्थामा हामी एकताबद्ध भयौ । एकताबद्ध भए पनि पूर्व घटकहरुभित्र रहेको अन्तरविरोधहरु चलायमान नै थिए । त्यही अन्तरविरोध दुरुपयोग भयो र अहिले यो स्थिति आएको हो । 

 

अब कसरी समाधान गर्नुहुन्छ ?

अहिले जुन उचाइमा हामी पुगेका छौं, यही उचाइमा चुनौतीहरु पनि आए । यसको सामना गर्ने सामथ्र्य हामीले आर्जन गर्नुपर्छ । त्यसका लागि एउटा भावनात्मक आधार कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाउनुपर्छ । यो राष्ट्र र जनताको आवश्यकता हो ।  विगतमा भएको कमीकमजोरीको आत्मसमीक्षा पनि हुनुपर्छ । आत्मसमीक्षा गर्दा आफ्ना कमीकमजोरीलाई महसुस गर्दा सानो भइँदैन । कमजोर भइँदैन । झन् त्यसले शक्ति प्राप्त हुन्छ ।

 

म सबै साथीहरुलाई के भन्न चाहन्छु भने आज यतिबेला एमालेको नाममा जे जस्ता कुराहरु भइरहेका छन् । त्यो बडो दुःखद छन् । जनता र कार्यकर्ताले मन नपराउने कुराहरु हुन् । ती मन नपराउने कुरा चाही हामीले रोक्नुपर्छ र नयाँ स्तरमा एकताको लागि पहल र प्रयत्न गर्नुपर्छ ।  एकताको कुरा गरिरहँदा हामीले के अठोट र संकल्प गर्नुपर्छ भने आन्दोलनलाई नयाँ उचाइ प्रदान गर्नु हाम्रो कर्तव्य हो ।

 

पार्टीलाई पनि नयाँ ढंगले निर्माण गरेर अगाडि बढाउनुपर्ने हाम्रो कर्तव्य हो । यो कर्तव्य हाम्रो कुनै वैयक्तिक ढंगले या कुनै टिम विशेषको मात्रै कुरा होइन । यो राष्टिय आवश्यकता हो । त्यसकारणले कमी कमजोरी हामी आफैबाट भए । अब यसलाई सच्याउने आँट पनि हामी आफैले गर्नुपर्छ ।

 

यसमा कुनै एउटा पक्ष निरन्तर गलत र कुनै एउटा पक्ष निरन्तर सही कदापि हुँदैन होला नि त ?
 

यो गल्ती कमजोरीको कुरा मात्रै होइन । पार्टीलाई वा नेतालाई, निर्णयलाई, नीतिलाई, जुनसुकै कुरालाई पनि शतप्रतिशतमा बुझ्नु हुँदैन । सापेक्षतामा बुझ्नुपर्छ । प्रतिशतमा बुझ्नुपर्छ । कमिकमजोरीहरु भएका हुनसक्छन् । कहीँ धेरै मात्रामा कहीँ कम होलान् तर गम्भीर कमजोरी के हुन् भनेर बुझ्नुपर्छ । गम्भीर कमजोरी भएपनि त्यो नेकपा एमालेभित्र कै साथीहरुबाट भएका हुन् । त्यसलाई सच्याउने आँट गर्नुपर्छ । 

के गर्न हुने र के नहुने भन्ने केही आधारभूत सीमा रेखाहरु त हुन्छन् नि । जस्तो पार्टी अध्यक्ष निर्वाचित भएर केपी ओली आउनुभयो । पुर्व पार्टीको महाधिवेशनमा निर्वाचित भएको अध्यक्षको नाताले एकीकृत पार्टीको अध्यक्षको रुपमा उहाँ आउनुभयो । अब अर्को पार्टी नेकपा माओवादी केन्द्रको अध्यक्ष भएको नाताले प्रचण्ड आउनुभएको थियो । यो दुईवटा अध्यक्षको विशेष व्यवस्था हामीले ग¥यौं ।

अब अचम्म कुरा के हो भने महाधिवेशन चैतमा गर्ने भनेको छ । छिटै गर्ने हो भने विशेष महाधिवेशन फागुनमै गरौं । त्यो भन्दा अझै छिटो हो भने माघमा नै गरौं । अध्यक्ष केपी ओलीले म महाधिवेशनमा अध्यक्ष उठ्दिनँ, महाधिवेशनको तयारी गरौं, गरौं भन्दा त्यो नगरीकन बीचमै अध्यक्ष हट्नुपर्छ भनेर धक्का मारेर हटाउने खालको कुरा भो भने त्यो कस्तो देखिन्छ ? त्यो कुन खालको कमजोरी ? त्यो कुन खालको गल्ती ? त्यो हामीले बुझ्नु जरुरी छ ।

 

एउटा पार्टीको दुईवटा समूहले आआफूलाई वैधानिक भनिरहेका बेला आम जनताले कसलाई के हेरेर सही मूल्यांकन गर्ने ?

देशभरिका पार्टी कार्यकर्ताले यी विगतमा भएका कुरालाई कसरी मूल्यांकन गर्ने ? यो आज वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ । आत्मालोचना गरिरहनुपर्छ भनिरहँदा यी विगतका कुरा हेर्न जरुरी छ ।

 

अर्को कुरा निर्वाचनका बेलामा नेकपालाई भोट दिने भनेर हामीले वाम गठबन्धन बनायौं । त्यसबेला हामीले तत्कालीन नेकपा एमालेको तर्फबाट र माओवादी केन्द्रको तर्फबाट पनि प्रधानमन्त्री केपी ओली भनेरै लडियो । विभिन्न कारणले केपी ओलीको प्रतिष्ठा र लोकप्रियताको कुरा थियो । त्यसैले पनि उहाँ विजयी बन्नुभयो । हाम्रो पार्टी विजयी बन्यो । संसदीय दलको नेता सर्वसम्मत हुनुभयो । 

 

संसदीय दलको नेता भएपछि प्रधानमन्त्री बन्नुभयो । माओवादी केन्द्रले पनि प्रधानमन्त्रीको रुपमा उहाँलाई नै प्रस्तुत ग¥यो । दुई वर्ष वित्न पाएको छैन बीचैमा प्रधानमन्त्री छोड्नुपर्छ भनेर धक्का मारेर हटाउने जस्तो खालको कुरा गर्यो भने कस्तो देखिन्छ ? यो कुरा कुन तहको बद्नियतपूर्ण कुरा हो भनेर भन्नुपर्छ ।

 

नेपाल पक्षले त नेपाल कम्युनिष्ट पार्टी माओवादीको एकता विथोल्ने काम पनि प्रधानमन्त्री ओलीबाट भएको भन्ने दाबी गर्दै आएको छ नि । त्यसलाई स्वीकार्नुहुन्छ ?

कात्तिक २८ गते एउटा अध्यक्ष पुष्पकमल दाहालको तर्फबाट अर्को अध्यक्ष केपी ओलीलाई अभियोग लगाइयो । त्यो अभियोग अत्यन्तै संगीन छ । त्यो अभियोगले पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन मात्रै नालायक होइन केपी ओली पार्टी सदस्य पनि रहन नसक्ने, त्यत्तिमात्रै होइन फौजदारी अभियोग लगाएर दण्डित गर्नुपर्ने खालका अभियोग लगाइसकेपछि एकताको जग कसरी कायम रहन सक्थ्यो ? 

 

त्यस्तो बेलामा प्रधानमन्त्री पार्टी अध्यक्ष केपी ओलीले आफै खुमलटारमा गएर दाहाललाई अभियोग अस्वीकार गर्छु, फिर्ता लिनुहोस् भन्नुभयो । पार्टीका आन्तरिक समस्याका बारेमा छलफल गरौं । यदि गर्नुहुन्न भने आधा शताब्दीको मेरो राजनीतिक जीवन माथि धावा बोलेपछि मैले प्रतिवाद गर्नुपर्छ । जनता न्यायाधीश हुन् । न्याय दिने जनतासँग मैले जानुपर्छ भनेर उहाँले बताउनुभयो । तर त्यसलाई गम्भीरताका साथमा लिइएन ।

 

दाहाल अन्तरविरोधहरुमा खेलेर ढाडमा टेकेर टाउकोमा हान्न अभ्यस्त हुनुहुन्थ्यो । पूूर्व एमालेभित्र विभिन्न कारणले सृजना भएका अन्तरविरोधहरु थिए । त्यही अन्तरविरोधलाई प्रयोग गरेर उहाँ अगाडि बढ्न चाहनुभयो । दुर्भाग्यले त्यसबेलाका नेकपा एमालेका नेताहरु पनि हिजोदेखिका सञ्चित अन्तरविरोधहरुलाई पुष्पकमल दाहालजीको सेकताप प्राप्त गरेर अगाडि बढाउन खोज्नुभयो जस्तो लाग्छ । यो आरोप होइन । मेरो बुझाइ हो ।

 

अबको कार्यदिशा के हो ?
 

हिजो नेकपा भएको कालमा जेसुकै भएको होस् । अब त २०७५ साल जेठ २ गतेको अवस्थामा हामी आइपुग्यौं । अर्थात् माओवादी केन्द्र आफ्नो हिसाबले अगाडि बढ्ने भयो र नेकपा एमाले आफ्नो ढंगले अगाडि बढ्ने भयो । त्यो पूर्वअवस्थामा आइसकेपछि अब नेकपा एमालेलाई सुदृढ गर्न कसरी जाने भन्ने हिसाबले सोच्नु जरुरी छ ।

 

गाउँघरतिर घरझगडा धेरै हुन थाल्यो भने मानो छुट्याउने चलन छ । अहिले मानो छुट्याएर घर झगडा मिलाउन सकिँदैन ?
 

तनावका साथ छलफल गर्नुपर्ने विषय नै हो जस्तो लाग्दैन मलाई । सामान्य निजी पारिवारिक विषयमा पनि आजकल श्रीमान् श्रीमतीबीच सम्बन्ध राम्रो भएन भने सल्लाह गरेरै अब तिम्रो हाम्रो यो जोडी नचल्ने भो अब हामी अलग अलग रहौं भनेर भन्छन् रे । त्यो अभ्यास पनि प्रारम्भ भएको छ । राजनीतिमा त के भो र ? राजनीति यही समाजमा गर्ने हो । हाम्रा योग्यता र अयोग्यता यही समाजका मानिसहरुले जज गर्ने हुन् । त्यसकारणले यदि सम्बन्ध कायम नरहन सक्दा त सल्लाहले नै गर्दा भइहाल्छ, केही पनि फरक परेन ।

 

एमालेको महासचिवको नाताले मेरो भनाइ छ, हामीले त्यसो गर्नुभन्दा पनि अहिलेको अवस्थामा भरसख आफ्ना कमीकमजोरीलाई सच्याउने र यसलाई जीत र हारको विषय बनाउनु हुँदैन ।  होइन यदि त्यसरी जान नसक्ने हो भने पनि किन हामीले तँ तँ म म गरिरहन पर्यो र ? राजनीति आफ्नो स्वेच्छाले गर्ने हो । एउटा मान्यतालाई लिएर हामीले राजनीति गर्ने हो । देश र जनताको नाममा राजनीति गर्ने भनिसकेपछि के गर्दा इजअफ माइण्ड (मनको चैन) हुन्छ । त्यसअनुरुप गर्न सकिन्छ ।

 

आजको संसदीय दलको बैठकमा उहाँहरु (नेपाल पक्ष) नआउने कुरा छ , तपाईंहरु के गर्नुहुन्छ ?
 

नेकपा एमालेको नवौं महाधिवेशले निर्वाचित गरेको अध्यक्ष केपी ओली । निर्वाचित गरेको महासचिव म । हाम्रो विधानले अध्यक्ष र महासचिवले कार्यकारी हैसियतले भूमिका खेल्छन् । अध्यक्ष र महासचिवको तर्फबाट नै बैठक बोलाइएको हो । संसदीय दलको बैठक दलको नेताको तर्फबाट पार्टी अध्यक्ष प्रधानमन्त्री जीले बोलाउनुभएको हो । त्यो बैठकमा आउनु सबैको कर्तव्य हो । बैठकमा हामीले बोलाएका छौ उहाँहरु आउनुहुन्छ । त्यस विषयमा पनि आवश्यकता अनुसार छलफल हुन्छ । 

 

विशेष बैठक भनेर हामीले २८ फागुनमा गरेका थियौ । विशेष बैठक किन जरुरी थियो भने नेकपा एमालेको विधानलाई उही रुपमा राखेर बैठक नै गर्न सकिँदैनथ्यो । त्यसकारणले पनि विशेष बैठक भनेर गर्नुपथ्र्यो । बाधा अड्काउ फुकाउने केही केही बैठकहरु नगरी नहुने थियो । त्यो गरिसकेपछि बैठक औपचारिक ढंगले जानसक्थ्यो । अध्यक्ष र महासचिवको हैसियतमा त्यो बैठक आयोजना भयो । त्यो बैठकले मूलतः ७ गतेको केन्द्रीय कमिटीको पूर्ण बैठकमा प्रस्तुत गर्ने एजेण्डाहरु तयार गरेको हो । त्यो प्रस्ताव ७ चैतको बैठकमा प्रस्तुत गरिन्छ ।

 

दुई समूहको आआफ्नो अडानले आफ्ना कार्यकर्ता कतै भड्किएलान् कि भन्ने चिन्ता छैन ? के बुझ्ने एमालेको सामान्य मतदाताले ?
 

यो हाम्रो पार्टीको जीवन कस्तो छ भने हामीले अनेक उतारचढाव झेलेका छौं । हामीसँग एकता, फुट अनि जुटका पनि अनुभव छन् । एकता गर्दाको अनुभव पनि छ । एकता टुटेर दुख पाएको अनुभव पनि छ हामीसँग । अनि ती अनुभव प्राप्त गरेका नेता साथीहरु पनि हुनुहुन्छ हामीसँग । हाम्रो पार्टीले अनेकखालका उतारचढावहरु झेल्दै आएको छ । हामीले यस्तो अप्ठ्यारो अवस्थामा धैर्य राख्नुपर्छ । संयमता राख्नुपर्छ । एकले अर्कालाई आरोप लगाउने जस्तो मात्रै कुरा गर्नुहुँदैन ।

 

हामीले यतिबेला पार्टी आन्दोलनलाई अगाडि बढाउने विषयमा नयाँ ढंगले छलफल गर्नुपर्ने जरुरत छ । आज नेकपा एमालेको जीवनमा देखा परेको यो कुराले हामीलाई यो पार्टीको नेतृत्वमा अगाडि बढेको आन्दोलनलाई कसरी अगाडि बढाउने, यसमा आधारित भएर पार्टीलाई कसरी अगाडि बढाउने ? हाम्रो पार्टीको राजनीतिक कार्यदिशा र पार्टी निर्माणको दिशा के हो ? त्यसमा केन्द्रित भएर बहस छलफल केन्द्रित गर्ने । 

 

हामीले कुनै पनि किसिमको अधिनायकवाद मञ्जुर गर्दैनौं भन्दछौं । हाम्रो संगठनात्मक सिद्धान्तमा कतिपय अधिनायकवादको गन्ध आउने केही कुरा छन् भने त्यो अभ्यासलाई पनि पुनः व्यवस्थित गर्नुपर्ने जरुरी छ । पार्टीले सरकार सञ्चालन गर्ने भनेको कुन किसिमले हो ? हाम्रो जस्तो देशको विशिष्ट अवस्थामा पार्टीले सरकार चलाउने भन्नाले के के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरालाई ख्याल गर्नु जरुरी छ । लोकतान्त्रिक अभ्यासको नाममा हामीले विगतमा जे जे कुरा गरेका छौं, त्यसलाई पनि पुनरावृत्ति गर्नुपर्ने जरुरत छ ।

 

एमालेभित्र अहिलेको अन्तरसंघर्षको निकासले कस्तो स्वरुप लेला ? 

देशभरका कार्यकर्ता र एमालेलाई माया गर्ने सबै साथीलाई भन्न चाहन्छु यतिबेला उत्तेजना र आवेशबाट होइन, संयम र धैर्यका साथमा हामीले अगाडि बढ्नुपर्छ । विगतका अनुभवहरुलाई पनि सम्झना गर्नुपर्छ  । पार्टी एकता सबैभन्दा ठूलो चीज हो । एकतामा आँच नपुगोस् भन्नका लागि हामी सबैले ध्यान दिनुपर्छ ।

 

अब नयाँ ढंगले पार्टी आन्दोलनलाई कसरी अगाडि बढाउने, यो चुनौतीलाई कसरी सामना गर्ने भन्ने बारेमा सोच्नुपर्छ । सबै साथीहरुलाई म भन्न चाहन्छु, चुनौतिका गर्भभित्र अवसरहरु नि लुकेका हुन्छन् । त्यो अवसरलाई चिर्नुपर्छ । त्यो अवसरलाई सदुपयोग गरेर अगाडि बढ्ने काम गर्नुपर्छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओली, कोको बन्लान् नयाँ मन्त्री ?

सरकारले संसद विघटन गरेपछि ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि खाली रहेका मन्त्रालयमा नयाँ मन्त्रीहरु नियुक्त गर्न लागिएको हो ।

चैत ५, २०७७