
जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनर्निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा विहीबार आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।
वि.सं.२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त वी.पी. राजमार्गको पुनर्निर्माण गत महिना सम्पन्न भएपछि जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना र कृषि क्षेत्रमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताउदैं मन्त्री नेम्बाङले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गरे ।
जापानले नेपालको पूर्वाधार क्षेत्रमा गरेको सहयोग देशको विकासका लागि कोशेढुंगा भएको र आगामी दिनमा पनि जापान सरकारले सडक पूर्वाधार निर्माणमा सहयोग जारी राख्ने विश्वास समेत उनले व्यक्त गरे ।
देशको केन्द्रीय राजधानीलाई पूर्वी तराईसँग जोड्ने १ सय ६० किलोमिटर लामो विपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण शुरु गरी सन् २०१५ मार्चमा सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरेको थियो ।
तर हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको थियो । त्यसपछि पनि जापानले राजमार्गको पुनर्निर्माणको जिम्मा लिदै सन् २०१९ जुलाई ३ देखि जापानी निर्माण कम्पनी हाजमा अण्डो कर्पोरेशन मार्फत काम शुरु गरेको थियो ।
करिब १८ महिना अर्थात सन २०२१ जनवरी १८ मा विपी राजमार्गको पुनर्निर्माण सम्पन्न गरी जापानले बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit