Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

वैज्ञानिक वन व्यवस्थापनमा भ्रष्टाचार गर्नेलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गरिने

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनको नाममा भ्रष्टाचार गर्ने वन अधिकृतहरुलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । बिहीबार बसेको समितिको बैठकले विभिन्न पदमा रहेका वन कर्मचारीलाई कारबाही गर्न अख्तियारलाई पत्राचार गर्ने निर्णय गरेको हो ।

 

यसैगरी समितिले संरक्षित क्षेत्रमा लागु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यविधि समेत खारेज गर्ने निर्णय गरेको छ । सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता र भ्रष्टाचार भएको उजुरी परेपछि एक उपसमिति नै बनाएर स्थलगत अध्ययन गरेको थियो । 

 

उपसमितिको अध्ययनले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन कर्मचारी वन उपभोक्ता समूहले काठ तस्करसँग मिलेर रुख कटान तथा विक्रीवितरण गरेको भन्दै कारबाही सिफरिस गरेको थियो । बैठकपछि निर्णय सुनाउँदै समिति सचिव डा. रोजनाथ पाण्डेले प्रतिवेदनमा दोषी किटान भएका पदाधिकारीहरुलाई करवाही गर्न सिफारिस गरिएको बताए ।

 

बैठकले काटिएका रुखलाई अनलाईन बोलपत्र (इविडिङ) आह्वान गरी विक्रीवितरण गर्न पनि निर्देशन दिएको छ । अहिले वन क्षेत्रमा काटिएका करिब ६० लाख क्यूफिट काठ रहेको छ । यस्तै बैठकले वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी कार्यविधि कुनै पनि ऐनमा रहेर नबनेकाले वन ऐन अनुसार सुधार र पूर्नमुल्यांकन गर्न पनि निर्देशन दिएको सचिव पाण्डेले बताए । समितिले सांसद प्रदिव यादवको संयोजकत्वमा उपसमिति बनाई सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कपिलवस्तु लगायतका जिल्लाका वनको स्थलगत अध्ययन गरेको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै