
सरकारले प्रतिनिधिसभा विघटन गरेपछि शेयर बजारमा उच्च गिरावट आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनका लागि पठाएका सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि शेयर बजारमा उच्च गिरावट आएको हो ।
आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनीतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किदा नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । कारोबार शुरु भएदेखि नै घटिरहेको बजारमा राष्ट्रपति भण्डारीले संसद विघटन गरेको समाचार आएसँगै अन्तिम २५ मिनेटमा थप ४३ अंकको गिरावट दखियो । समग्रमा नेप्से ४ दशमलव ७७ प्रतिशत अर्थात् ९६ दशमलव ८८ अंकले घटेर १ हजार ९ सय ३५ दशमलव ६३ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव २५ प्रतिशत अर्थात् २६ दशमलव ३९ अंकले घटेर ३ सय ६९ दशमलव ५५ अंकमा झरेको छ ।
दिनभर १ सय ९८ कम्पनीको ९ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर खरिदविक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचकहरु घटेका छन् । कारोबारमा आएका समूहमध्ये सबैभन्दा धेरै अन्य समूह ८ दशमलव ३९ प्रतिशतले घटेको छ । यस्तै जलविद्युत् समूह ६ दशमलव ६८ प्रतिशत, निर्जीवन बीमा समूह ५ दशमलव ४८ प्रतिशत, जीवन बीमा समूह ५ दशमलव ०५ प्रतिशत, व्यापार समूह ४ दशमलव २८ प्रतिशत, विकास बैंक समूह ३ दशमलव ६९ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ९२ प्रतिशत, होटल समूह २ दशमलव ६३ प्रतिशत, फाइनान्स समूह २ दशमलव ३५ प्रतिशत र म्युचुअल फण्ड समूहका शूून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचकमा भारी गिरावट आए पनि १४ वटा कम्पनीका शेयरधनीले भने कमाएका छन् । युनाइटेड इदी–मर्दी आरबी जलविद्युतका शेयरधनीले झण्डै १० प्रतिशतले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाएका छन् । यस बाहेक विभिन्न १२ कम्पनीका शेयरधनीले ९ प्रतिशत भन्दा बढी गुमाएका छन् । जसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छ्याङ्दी जलविद्युत, अपर तामाकोशि जलविद्युत् कम्पनी लगायतका कम्पनीका शेयरधनी रहेका छन् । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सबैभन्दा धेरै १ अर्ब ६ करोड ८४ लाख ६३ लाख रुपैयाँ बराबरको भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit