
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित, व्यक्ति केन्द्रित, अदालत, राष्ट्रपति र सरकारी संस्थामाथि अभिव्यक्ति बढेको र त्यसलाई सामाजिक सञ्जाल र अनलाइनले स्थान दिएको आरोपसहित नियमनका लागि कडाइ गरिने बताएका छन् ।
उनले लोकतान्त्रिक शासन पद्धतिलाई प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेड तर्फ धकेल्ने खालको अभिव्यक्ति आएको दाबी गरे । स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता बिना चलेका फेसबुक, युट्युब अनलाइनको विकृति रोक्न छिट्टै सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारीमा रहेको मन्त्री गुरुङले सार्वजनिक गरेका हुन् ।
मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले तोकिएकै मितिमा निर्वाचन हुने बताए । निर्वाचन गर्न सुरक्षा परिषदको बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको उनले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउन सरकार तयार रहेको भन्दै अलमलमा नपर्न निर्वाचन आयोगलाई पनि अनुरोध गरिसकेको अवस्थामा निर्धारित मितिमै निर्वाचन हुने उनको भनाइ थियो ।
मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरे । दाहाल–नेपाल पक्षले दाबी गर्ने हदम्याद सकिइसके पछि निर्वाचन आयोगको कानुन, नीति, नियमलाई नबुझिकन दाबी गरेको उनको भनाइ छ ।
आयोगले मध्यावधि निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्री तथा संसदीय दलको नेता केपी शर्मा ओलीलाई मात्रै चिनेको भन्दै उनले निर्वाचन आयोगको निर्णयमा विश्वास रहेको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit