
कमलपोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै पोखरीको संरचना बनाउन लागेको बताएको छ ।
पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ । तर काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफल अनुरुप पूर्वनिर्धारित डिजाइनले नै निर्माणकार्य अघि बढाइरहेको भन्दै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भीर भएको बताएको हो ।
कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पूजा गरिँदै आएको छ । छठ पूजा गर्न मण्डप निर्माण गर्ने स्थानीयसँगकै सहमती अनुरुप निर्माण गर्दा पोखरीको चारैतर्फ घाट बनाउन केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको महानगरले जनाएको छ ।
अन्यथा ढुंगा सिमेन्टको प्रयोग नभएको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । खाली जमिन तथा पैदल हिँड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाई छ ।
पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई जमेर बस्न नदिनेगरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाइने उपाध्यक्ष बस्नेतले जानकारी दिए ।
ढुंगा, सिमेन्ट प्रयोगको विषय चिन्ताको विषय नभएको पनि उनको भनाइ छ । करिब ७ करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुन लागेको जानकारी दिँदै उनले आगामी बैशाखसम्ममा सर्वसाधारणको लागि खुल्ला गर्ने लक्ष्य राखिएको बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit