
मुलुक लोडसेडिङ मुक्त भनिए पनि हुम्लाको सदरमुकाम सिमकोटमा भने दैनिक २० घण्टासम्म लोडसेडिङ हुने गरेको छ । जलविद्युत् आयोजनाको मर्मतमा बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन नसकेको हो ।
विद्युत् प्राधिकरण कार्यालय सिमकोटका अनुसार विद्युत् गृहमा पानीको स्रोत कम हुँदा विद्युत् उत्पादन क्षमतामा पनि ह्रास आएको र लोडसेडिङ दैनिकरूपमा बढ्दै गएको छ ।
विद्युत् आपूर्ति नभएपछि फर्निचर, इलेक्ट्रोनिक्सका सबै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको सिमकोटमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका नन्द सिंहले जानकारी दिए ।
त्यसैगरी मोबाइल मर्मत सेन्टर, विद्यार्थी, जिल्ला अस्पताल हुम्लालाई समेत समस्या भएको छ । दिउँसोमै बत्ती नआउँदा विद्युतका काम ठप्प भएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।
हिल्दुम साना जलविद्युत् आयोजनाको विद्युत् गृहका लागि पानीको स्रोत कम हुँदा दैनिक लोडसेडिङ समय बढिरहेको वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए । ‘५०० किलोवाट विद्युत् उत्पादन गर्ने आयोजनाबाट हाल १४० देखि १५० किलोवाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ,’ उनले भने ।
वितरण केन्द्रले सिमकोट र खार्पुनाथ गाउँपालिकाका एक हजार ८०० सेवाग्राहीलाई सेवा दिँदै आएको छ । पानीको स्रोत कम भएपछि आयोजना नजिकको लाङ्दुखोलाबाट पानी ल्याएर मूल नहरमा मिसाउने कामका लागि बोलपत्र भएको तर ढिलाइका कारण पनि समस्या आएको उनले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit