
काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको राजनीति पार्टी पूmटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौंका मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीको अलावा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ ।
नेकपाभित्रको दुई खेमाको समानान्तर बैठक बोलाइएका स्थानहरुमा समेत बाक्लो संख्यामा प्रहरी खटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरोधमा भूमिगत राजनीति गरिरहेको विप्लव समूहले समेत विरोध गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको हो ।
विभिन्न राजनीतिक दलले गर्ने विरोध प्रदर्शनमा विप्लव समूहको घुसपैठ समेत हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ । काठमाडौंको रत्नपार्क वरिपरिको क्षेत्र, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने क्षेत्र, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर र प्रदर्शनीमार्ग लगायतका क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ ।
यस्तै, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई मन्त्रालयको अनुमतिबेगर जिल्ला नछाड्न परिपत्र गरेको छ । पछिल्लो समय विकसित घटनाक्रमले जुनसुकै समय हिंसा भड्किन सक्ने भएकाले यस्तो परिपत्र गरिएको हो ।
मन्त्रालयका प्रवक्ता चक्रबहादु्र बुढाले जिल्लामा विरोध तथा प्रदर्शन भइरहेकाले शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको पर्दाफास डटकमसँग बताए । ‘देशको बदलिँदो परिस्थितिअनुसार शान्ति सुरक्षा कायम गर्न, बिदामा नबस्न र जिल्ला नछाड्न निर्देशन दिएका छौं,’ उनले भने ।
यसअघि प्रधानमन्त्री ओलीले बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउँदै चुनावी सुरक्षामा केन्द्रित हुन प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलाई निर्देशन दिएका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit