Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कोभिडसँगै राजनीतिक संक्रमण फैलाउने नेतृत्व कसरी बुद्धिमानी हुन्छ ?: पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठ 

पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्य प्रसाद श्रेष्ठ । 

सरकारले  ५ पुस २०७७ मा  प्रतिनिधि सभा विघटन गरे पछि नेपाली राजनीति ध्रुबीकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुईभागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ । 


सरकारले प्रतिनिधि सभाको विघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व तयारीको कामहरु थालिसकेको छ । यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्य प्रसाद श्रेष्ठसँग अहिलेको समसामयिक विषयमा कुराकानी गरेको छ । कुराकानीको क्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त श्रेष्ठले दलहरुको आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र अप्ठेरोमा परेको बताए । 

 

प्रश्नः अहिलेको राजनीतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ?

 


अहिले कोरोनाले मुलुक आक्रान्त छ । यसले समाजमा ठुलै संकट ल्याएको छ । यसको आर्थिक सामाजिक असर गहिरिदै गएको छ । यससँगै राजनीतिक दलहरुले अर्को राजनीतिक संकट सृजना गरेका छन् । राजनैतिक संक्रमण फैलिएको छ । यस्तो संक्रमण थप्ने नेतृत्व बुद्धिमानी नेतृत्व होइन । समस्या समाधानको उपाय हुँदहुदै राजनैतिक दलले देशलाई संकटमा धकेलेका छन् । बहुलबादी ब्यबस्थामा राजनैतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रोमा त सत्तारुढ दल र बिपक्षी दल दुबैले काम गर्न सकेनन् । दल भित्रको अन्तरकलहले यो संकट आएको हो । जनताले जसलाई विश्वासको मत दिएका थिए उसैले धोका दिए जस्तो भएको छ । ब्यक्तिगत स्वार्थ र पदलोलुपताले नेपाल कम्युनिष्ट पार्टीलाई नै ग्रस्त बनाएको अवस्था छ ।

 

 

 

प्रश्नः समस्या नीतिमा भन्दा पनि नियतमा देखियो हैन ?

 

कम्युनिष्ट पार्टीको नीतिको कुरा त के छ र, कोहि निर्वाचनमा भाग लिएर यहाँ सम्म आए, कोहि युद्ध लडे । यद्यपि जनताले दुबै शक्ति एकत्रित हँुदा र स्थायी सरकारको निर्माण होस् भनेर विश्वास गरे मत दिए । जनताले एकिकृत कम्युनिष्ट पार्टीलाई सत्ताको भार दिएका हुन् । यो सामान्य कुरा थिएन । कम्युनिष्ट पार्टी जनताको मतबाट चुनिएर आएको थियो । यो ठूलो उपलब्धी थियो। 

 

 

प्रश्नः अहिलेको झगडाले दुई संवैधानिक निकाय विवादमा तानिएको छ यसमा तपाईको टिप्पणी के छ ?

 


प्रतिनिधि सभा विघटनको विषय अदालतमा विचाराधिन छ । धेरै टिप्पणी गर्नु उपयुक्त हुदैन । विषय जटिल पनि छ । प्रतिनिधि सभा बिघटन ठिक र बेठिक भन्ने दुई मत छ । पार्टी फुटेर आएको भए अर्कै विषय हुन्थ्यो । पार्टी फुटेको छैन । दलको विषयमा निर्वाचन आयोगले टुङ्गो लगाउनु पर्छ । प्रतिनिधि सभा बिघटनको विषय सर्वोच्चले हेर्छ । प्रधानमन्त्रीको कुरा सुन्दा आफुलाई काम गर्न नै नदिएको अनि प्रतिनिधि सभा विघटन गर्नुपरेको भन्ने छ । यी सबै विषय अन्तरघुलित छन्  ।

 


प्रश्नः त्यसो भए यो लडाई कानूनी हो कि राजनीतिक? यसले निर्वाचन आयोग चेपुवामा पर्छ कि?

 


निर्वाचन आयोग पनि संवैधानिक आयोग हो संविधानले तोकिदिएको स्पष्ट क्षेत्राधिकार छ । आयोगका पदाधिकारी सरकारले नियुक्त गरे पनि काम कानून अनुसार नै गर्नुपर्छ । हाम्रो विश्वास पनि छ । लामो समय सार्वजनिक सेवामा काम गरेका अनुभवले खारिएका ब्यक्तिहरुले राजनीतिक चेपुवामा परेर निर्णय गर्छन् भन्नु गलत हुन्छ । आफैले ब्यक्त गरेर देखाए भने अलग कुरा तर आयोग भित्र बसेर निर्णय प्रक्रियामा नै राजनीतिक दलको प्रभाव पर्ने कुरा हुदैन ।

 

 


प्रश्नः तर...अहिले सडकमा, भेला,प्रदर्शन मार्फत अदालत आयोगलाई धम्क्याएको देखिन्छ नि हैन?

 

यस्ता धम्की खबरदारी धेरै आउछन् । यसको पछाडी लाग्नु हुदैन । आफ्नो कानूनी प्रकृया पुरा गर्नुपर्छ । निर्वाचन आयोगको निर्णय पछि पनि अदालत जाने ढोका खुला हुन्छ । चित्त नबुझे जान सकिन्छ । धम्कीले केहि फरक पर्दैन । यस्तो अवस्थामा राजनीतिक दलले आफै निर्णायक भए जसरी भन्नु हुदैन ।

 


प्रश्नः त्यसो भए निर्वाचन आयोगले सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने हैन र?

 

यो प्रश्न धेरैको मनमा छ । मलाई पनि धेरैले सोध्ने गरेका छन् । नेपाल सरकारले दिएको निर्णयमा समयको पावन्दी छ । मिति तोकिएको छ । ३ महिना भित्र निर्वाचन गराउनै पर्ने अवस्था छ । यो अवस्थामा निर्वाचन आयोग निर्णयको बन्दी जस्तै छ । ३ महिना भित्र निर्वाचन हुने नहुने अलग कुरा भयो तर तयारीको सबै काम आयोगले गर्नुपर्छ । २०४७ सालको निर्वाचन मैले नै गराएको हो । समय लगभग ६ महिना थियो । निर्वाचन आयोगले आफ्नो प्रक्रियागत र आन्तरिक तयारी गरिरहेकै हुन्छ । जुनसुकै बेला निर्वाचन हुन सक्छ भनेर तयारी गरेकै हुन्छ । अहिले आयोगलाई दल दर्ताको विषय  भने पेचिलो बन्ने दखिन्छ ।

 

 

प्रश्नः अहिले सडकमा भएको गतिविधिले आयोगलाई कतिको प्रभाव पार्छ ?

 

 

सडकमा के हुन्छ, आयोगले सडकलाई किन हेर्ने । आयोगले ऐन नियम कानून हेर्ने हो । तर सडमा उत्रिएका राजनीतिक दल संयमित हुनुपर्छ । कानून भित्र रहेर प्रस्तुत हुनुपर्छ । नेतृत्वमा जवाफदेहिता हुनुपर्छ । भोली आफै सरकार चलाउने ठाउँमा पुग्दा यस्तो समस्या आउछ भनेर बिचार गर्नुपर्छ । राजनीतिक दलको नेतृत्व धेरै नै जवाफदेही बन्नुपर्ने छ । यो समयको माग हो,जनताको माग पनि हो ।


प्रश्नः केहि दिन अघि आन्दोलनको नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्रीहरु निर्वाचन आयोग नै पुगेर प्रक्रिया रोक्न आग्रह गरे यसलाई कसरी  हेर्नुभएको छ ?

 

 

आयोगले आफ्नो काम रोक्न सक्दैन । किन रोक्ने, आयोगको धेरै काम प्रकृयागत हुन्छ । प्रकृया नै रोक् भन्नु गलत हो । यसरी भन्न मिल्दैन । यस्तो हस्तक्षेपकारी काम गर्नुहुन्न । यस्ता निकायलाई राजनैतिक दलले कार्यकर्ता भर्ना गर्ने थलो जस्तो सम्झन थाले । यस्तो हुनुहुदैन ।

 


प्रश्नः अब यसको निकास कसरी हुन्छ ?

 

 

यस्ता झगडाको निरुपणको एउटा माध्यम प्रजातन्त्रमा मतदान नै हो । यो असामयिक भयो । यो संबैधानिक छ कि छैन भन्ने विषय जटिल छ । अर्को राजनीतिक दलको संचालन विधि खराब भयो । सबै राजनीतिक दलमा यस्तै छ । यो परम्परा जस्तै भएको छ संसद विघटन गर्ने । पहिले त संविधानमा लेखिएको थियो अहिले त स्पष्ट छैन । संविधानले सरकारलाई बाँधेको हुन्छ, निरंकुश हुन दिदैन । मलाइ लागेको कुरा दलको संगठन बन्ने प्रकृया नै प्रजातान्त्रिक छैन । साथै राजनीतिक दल भित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण भयो । यसले लोकतन्त्रको विकाशमा बाधा पुगेको छ । यसैको कारण राजनीतिक संस्कारको विकास हुन सकेन ।


प्रश्नः यसरी बुझौं मुलुक लोकतन्त्रमा गयो तर दलहरु अझै लोकतान्त्रीक हुन सकेनन् ।

 

 

हो त, अहिले सम्म पार्टीहरुमा निर्दलीय स्वभाव नै छ । एकल पार्टी जस्तो पञ्चायती ब्यबस्था जस्तो । यो झगडाको बीउ पनि यस्तै कुराले हो । गुटबन्दीको झगडा पञ्चायतमा पनि थियो । ठिक यस्तै प्रकृतिको झगडा अहिले राजनीतिक दल भित्र छ ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै