
ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ । साहसिक पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका हुन् ।
एकतर्फ ४ सय मिटर र अर्कोतर्फ ४ सय मिटर गरी कुल ८ सय मिटर रहेको जिपलाइन खेल्नका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट पर्यटकहरु जाने गरेका छन् ।
जिपलाइन खेल्नका लागि फोटो भिडियो सहित प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएपनि अहिले छुट दिएर प्रतिव्यक्ति १ हजार ३ सय रुपैयाँ लिइएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको श्रेष्ठले बताए । उनले टिकटमै बीमा शुल्क समेत जोडिएकाले जोखिमको सुरक्षा समेत रहेको बताए ।
ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ ।
जिपलाइन खेल्न आउने पर्यटकहरु पनि साहसिक खेल खेल्न पाउँदा निकै खुशि देखिएका छन् । उपत्यकाबाट नजिकै साहसिक खेल खेल्न पाउने ठाउँ नभएका बेला जिपलाइन सञ्चालनमा आउँदा यस क्षेत्रको पर्यटनमा समेत टेवा पुग्ने उनीहरुको भनाई छ ।
नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आव्हान गरेपछि बोलकबोल मार्फत ठाउँ लिइएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नविगारिकन साहसिक पर्यटनको विकास गर्ने मापदण्ड अनुसार जीपलाइन स्थापना र संचालन हुने संचालक श्रेष्ठले बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit