Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

दाहाल–नेपाल पक्षको संघर्षको तयारी पूरा, निर्धारित नारा मात्र लगाउनुपर्ने


नेकपाको दाहाल–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरुद्धमा शुक्रबार काठमाडौंमा गर्ने विरोध सभाको तयारी पूरा भएको जनाएको छ ।

 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पूरा भएको जानकारी दिए । साथै, निर्धारित नारा मात्र लगाउन उक्त पक्षले निर्देशिका जारी गरेको छ ।

 

भट्टराईले पार्टीको स्थायी कमिटी सदस्यसहितका नेताहरुको नेतृत्वमा माइतिघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मीकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने बताए । त्यसैगरी, उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुश रत्नपार्कमा जम्मा भई मुख्य जुलुशमा परिणत हुने उनको भनाइ छ । 

 

मुख्य जुलुश पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए । विरोधसभामा अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने उनले बताए । 

 

सह–संयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने बताए । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने जानकारी दिए ।

 

श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भुमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने दाबी गरे ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै