
नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि चार जनाको प्रदेश सांसद पद खोसिएको छ । प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका सांसदहरुको सांसद पद खोसिएको हो ।
सांसद पद गुम्नेमा प्रदेश १ का मन्त्री समेत रहेका टंक आङ्बुहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मी छन् । उनीहरुलाई पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको भनी कारबाही गरिएको हो ।
हालै मात्र प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङबुहाङलाई १७ चैतमा माओवादी केन्द्रको प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, उनले स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।
माओवादीका प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज उनलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराउने जानकारी दिए । आङबुहाङ ताप्लेजुङ खबाट निर्वाचित सांसद हुन् । सांसद पद खोसिएकाले उनको मन्त्री कार्यकाल अब ६ महिनाको मात्र हुनेछ ।
यस्तै, लुम्बिनीका सांसद न्यौपाने रुपन्देहीबाट र पन्थी गुल्मीबाट निर्वाचित भएका थिए । उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाएका थिए । उनीहरुलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयमा सिफारिस गरिएको छ ।
दुवै जनालाई माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता कुलप्रसाद केसीले एक साताअघि २४ घण्टे स्पष्टीकरण सोधे पनि जवाफ दिएका थिएनन् । कर्णालीमा दैलेखबाट निर्वाचित रेग्मीले दलत्याग गरेको भन्दै माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा सूचना दिएको छ ।
माओवादी केन्द्रको संसदीय दलको शनिबार बसेको बैठकले रेग्मीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit