Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

अबको बाटो प्रधानमन्त्रीको राजीनामा र दाहाल–नेपालबाट एकताको पहल हो : वामदेव गौतम (अन्तर्वार्ता)


 
नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने उनले बताएका हुन् । नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल अब पुष्पकमल दाहाल र माधवकुमार नेपालले लिनुपर्ने पनि बताए । यस्तो छ नेता गौतमसँग गरिएको कुराकानी :

 

प्रतिनिधि सभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनःस्थापित गरेको छ । यसले स्वेच्छाचारी तरिकाले जे मन लाग्यो त्यहीँ गर्दै हिँड्न पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधानको मर्म र भावना बमोजिम छ ।

 

प्रतिनिधिसभा भंग असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जति पनि काम गरेको छ, त्यो सबै असंवैधानिक हुन् भनेको हुनाले प्रतिनिधि सभा मात्रै पुनःस्थापित होइन, अरु धेरै कामहरु पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेको छु । 

 

मन्त्रिपरिषद्ले गरेको एउटा निर्णयले राष्ट्रिय राजनीति, पार्टी भित्रको राजनीति सबै खलबलिएको थियो । अब कोर्स कताबाट शुरु गर्नुपर्छ र कसले पहलकदमी लिनुपर्छ, कसको के भूमिका हुनुपर्छ ? तपाईले उठाउँदै आउनुभएको पार्टी एकताको कुरा अब कुन सिराबाट शुरु हुन्छ ?

पार्टी एकताको निम्ति सुरु गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनु भएन । पार्टी त विभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने दाहालको भनाइ आयो र पार्टी फुटाएको हामीले होइन, फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम दाहाल नेपालहरुले हो भनेर यतातिर भनेको छ अनि साइडबाई पार्टी फुटाउने बामदेव हो भनेर दुवैले आ–आफ्नो तरिकाले भन्नुभएको छ । जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । 

 

राम्रो भएमात्रै आफुले जिम्मा लिने नराम्रो भयो भने त्यसको अरुलाई लगाउने, आफै गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरुलाई अगाडि सार्ने र उनीहरुले गर्दाखेरी नै यो सबै भएको भनेर भन्ने चलन छ । नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरु हिंडनु भएको छ । 

 

यो पुनःस्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनःस्थापित गर्नुपर्छ । यद्यपि, सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टीभित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ ।

 

 

प्रतिनिधिसभा विघटनको निर्णय बदर भइसकेको अवस्थामा अब नेकपाको कुन पक्षको पहिलो स्टेप हुनुपर्छ । कहाँबाट शुरु हुनुपर्छ ? 

जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरु हुनुपर्ने हो । हिजो दाहालले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुनेँ । उहाँले चाल्नुभएको कदम सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत साबित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरि पुनः पार्टी एकीकरणको निम्ति दाहालले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन । त्यसैले जसले आफूलाई म विजयी भए भनेर भन्छ उसले भन्ने हो । 

 

तर दाहालले त्यस्तो भन्नुभएको मैले पाइनँ । पार्टी एकता हुन्छ, पार्टी एकता गर्नुपर्छ अब सबै साथीहरु एकजुट हुनुहुन्छ । म उहाँहरुलाई आह्वान गर्छु एकता हुनको निम्ति भनेर भन्नु भन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस् भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैले पनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यसपटक दाहालले हो । माधव नेपालले हो । पार्टी फुटिसक्यो त्यो फुटेको पार्टी गइसक्यो, अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला तर मलाई राम्रो लागेन ।

 

अब तपाई के गर्नुहुन्छ ?

मैले औपचारिक र अनौपचारिक रुपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुईवटा अध्यक्षलाई नै गएर भन्छु महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस् भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ । 

 

मैले यस्तो गरें त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ, अब म आत्मआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरुहरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो । उहाँले त्यो भनेको अहिले सम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ अब हामी एकतावद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति दबाब सिर्जना गर्छौं । 

 

सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपति माथि नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन ? 

नैतिकताको प्रश्न नीति मान्नेहरुलाई उठ्दो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठ्दो रहेनछ । तर म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ ।

 

हिजै राजीनामा गर्नुपथ्र्यो । सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तिकै राजीनामा गर्नुपथ्र्यो, अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरि पनि तुरुन्तै राजीनामा गर्न आग्रह गर्छु । मैले गल्ती गरेको थिए म आफूलाई सच्याउन चाहन्छु, अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै