Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

भारतसँग थप खोप खरिद प्रक्रिया सुरु भएको छः प्रधानमन्त्री ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने दाबी गरेका छन् । 

 

बुधबार कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका हुन् । 

 

भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन शुरु गरिएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मी लगायतलाई लगाउन शुरु गरिएको हो । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लिनुपर्ने हुन्छ ।

 

प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्नु नहुने पनि बताए । उनले कुनैपनि गरिब देश अथवा गरिब मानिस खोपबाट बञ्चित नहुने र सबैको पहुँचमा हुनुपर्ने बताए । 

 

सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निशुल्क रुपमा पाउने उनको भनाई छ । प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउने उनले बताए । 

 

प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोपको निम्ति अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिए । भारत सरकारसँग थप खोप उचित मुल्यमा किन्ने कुरा पनि भइरहेको उनले जानकारी दिए । 


प्रधानमन्त्री ओलीले खोप प्रारम्भ भएपनि कोभिड–१९ सम्पूर्ण रुपमा नियन्त्रण नभएसम्म मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सरसफाइ र खानपानमा ध्यान दिन आग्रह गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै