
नेपाल प्रहरीले सेनासँग रहेका घातक हतियार एसएलआर र इन्सास राइफल माग्ने तयारी गरिरहेको छ । यसका लागि प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख रहेका एआईजी प्रद्युम्न कार्कीलाई जिम्मेबारी तोकिएको प्रहरी उच्च स्रोतले जनाएको छ । एआइजी कार्की र प्रहरीको प्रशासन प्रमुख एआइजी निरजबहादुर शाहीले यसका लागि पटक–पटक नेपाली सेनाको नीति योजना महानिर्देशक उपरथी अनन्त कार्कीसँग छलफल समेत गरेको स्रोतले जनाएको छ ।
प्रहरी मुख्यालयमा केही दिनअघि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेलले गरेको अनौपचारिक छलफलमा निर्वाचनमा हतियार अपुग भए सेनासँग माग्ने बिषयमा छलफल गरेका थिए ।
प्रहरी आफैले हतियार खरिदगर्दा ‘लफडा’ हुने भन्दै सेनासँग माग्ने मनिस्थितीमा रहेका महानिरीक्षक थापा क्षेत्रीले यो बिषय उठाएका थिए । बैठकमा सहभागी रहेका एकजना एआईजीका अनुसार प्रहरीलाई घातक भन्दा गैरघातक हतियार आवश्यक हुनेभएकाले सेनासँग माग्नुभन्दा आफै किन्ने बिषय समेत उठेको थियो ।
प्रहरी प्रवक्ता एसएसपी बषन्तबहादुर कुँवरले यस बिषयमा अनभिज्ञता प्रकट गरे । उनले आफुलाई यस बिषयमा कुनै जानकारी नभएको पर्दाफासलाई बताए ।
सेनाले प्रहरीलाई हतियार निशुल्क दिने हो वा खरिद वा अन्य कुनै प्रक्रिया भन्ने बिषय छलफलमै रहेको छ ।
प्रहरी महानिरीक्षक थापा क्षेत्री र प्रधानसेनापति पूर्णचन्द्र थापाबिचको निकटताको परिणाम सेनासँग हतियार माग्ने बिषय रहेको टिप्पणी एकजना एआईजीले गरे ।
‘सबै सुरक्षा निकायसँग नेपाल प्रहरीको सम्बन्ध सुमधुर हुनुपर्छ, सहकार्य समेत आवश्यक रहन्छ,’ ती एआईजीले भने, ‘तर प्रहरी र सेनाको जिम्मेबारी फरक छ, उ हामी जस्तो र हामी उ जस्तो बन्ने होइन, पछिल्लो समय नक्सालमा धेरै बिषय जंगीअड्डाको ‘कपि’ हुन थालेको छ ।’
सेनाले आफुलाई भने अमेरिका र कोरियाबाट अत्याधुनिक कम घातक हतियार खरिदगर्दै छ । प्रधानसेनापति थापाको नेतृत्वमा पछिल्लो समय सेनाले चारै सुरक्षा निकायसँग निकट सम्बन्ध राख्नुका साथै आफ्ना एजेण्डा ती संगठनमा समेत छिराउन थालेको टिप्पणी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल वृत्तमा चल्ने गरेको छ ।
सेनाले यसअघि साउनमा ६ सय थान इन्सास राइफल सशस्त्र प्रहरी बल नेपाललाई दिएको थियो । माओवादी सशस्त्र द्वन्द्वका वेला भारतबाट ल्याइएका हतियार सेनाले सशस्त्र प्रहरीलाई दिएको हो ।
सशस्त्रका एकजना अधिकारीका अनुसार सेनाले ती हतियार प्रयोग नभएको बताएको थियो ।
नेपाली सेनाका तर्फबाट युद्धकार्य महानिर्देशक उपरथी राजेन्द्र कार्कीले सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रामशरण पौडेललाई हतियार हस्तानान्तरण गरेका थिए ।
सेनासँग भएका हतियार सशस्त्र प्रहरीलाई दिने विषयमा १५ असार २०७७ मा मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।
नेपालका चर्चित स्ट्राइकर तथा राष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखल जापानमा छन् । तर, उनको नाममा यातायात ब्यवस्था कार्यालय बाग्मतीले जारी गरेको सवारीचालक अनुमति पत्र नक्कली...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit