Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

भारत, चीन, अमेरिका र युरोपियन युनियनसँग कुरा गरिरहेका छौं : अध्यक्ष दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सदर भए नेपाल ठूलो राजनीतिक भूमरीमा फस्ने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली राज्यशक्तिको दुरुपयोग र प्रतिस्पर्धामा उत्रिएको आरोप समेत लगाए ।

 

मंगलबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङअनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आए यस्तो समस्या आउने बताएका हुन् । यद्यपि, आफूहरु संविधानको अक्षर र भावनाअनुसार नै न्यायलयबाट निर्णय आउनेमा विश्वस्त रहेको उनले स्पष्ट पारे ।

 

प्रधानमन्त्री ओलीले संविधान भन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उनले धारणा राखे । असंवैधानिक र अलोकतान्त्रिक कदम अनुसारको निर्वाचन पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुने उनको तर्क छ । ‘हामी निर्वाचन विरोधी होइनौं र हुनसक्तैनौं तर जबरजस्ती भनियो भने त्यो अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक निर्वाचनका बारेमा हामीले गम्भीर रुपमा विचार गर्नुपर्ने नै हुन्छ,’ उनले भने ।

 

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली आफैले प्रतिगमन गरेर आफै प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्चर्यजनक रहेको टिप्पणी गरे । सरकार पक्षले नै सभा गरेर तेस्रो जनआन्दोलन सुरु भयो भन्नु लोकतन्त्रविरुद्धको उपहास भएको उनको भनाइ छ । प्रधानमन्त्रीले निरंकुश ढंगले आफ्नो शासन अवधि लम्ब्याउन खोजेको र त्यो पूरा नहुने दाहाले ठोकुवा गरे ।

 

मुलुकमा लोकतन्त्र खतरामा परेकाले सबै लोकतन्त्रवादी अन्तर्राष्ट्रिय समुदायसँग समर्थनका लागि अपिल पनि गरिएको जानकारी दिए ।

 

‘यसबीचमा हाम्रो अलग अलग सबैसंग कुरा भइरहेको छ । भारतसंग, चीनसंग, अमेरिकासंग, युरोपियनहरुसंग पनि कुरा भइरहेको छ र हामीले सार्वजनिक अपिल पनि गरेका छौं अन्तर्राष्ट्रिय समुदायलाई,’ उनले भने । ‘नेपालमा लोकतन्त्रको हत्या भइरहेको छ, लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन नेपाली जनतालाई चाहियो भनेर औपचारिक अपिल गरेका छौ । अलग अलग भेटेर कुरा पनि गरेका छौं,’ दाहालले भने । आवश्यकता अनुसार सामूहिक भेटघाटको पनि आयोजना गर्न सकिने संकेत उनले गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै