Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सुन लुटेरा बिरुद्ध कपिलवस्तु प्रहरीको ३० मिनेटको एउटा अपरेशन

पक्राउ परेका आरोपी र बरामद धनमाल सार्वजनिकगर्दै कपिलवस्तु प्रहरी ।

कपिलवस्तुको तौलिहवा शिवालय चोकमा रहेको एउटा सुन पसल सोमबार पाँच बजेर ४० मिनेटमा लुटियो । सुनको सिक्री हेर्न आएका दुईजनाले कपिलवस्तु नगरपालिका–१ मा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा सुनका तीनथान औठी लिएर भागेका थिए ।  

 

संचालक बर्माले तत्काल जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी धर्मराज भण्डारीलाई फोन गरे । कार्यालयमा रहेका डीएसपी भण्डारीले एकजना प्रहरी निरीक्षकलाई साथ लिएर त्यहाँबाट निस्किए । अनि सुरु भयो अपरेशन । 

 

‘गाडी चढेपछि हामीले सबै युनिटलाई अर्लट गर्यो,’ डीएसपी भण्डारीले भने, ’सीमा काटने डरले सबै नाकामा निगरानी बढायौं ।’ उनका अनुसार घटनास्थल पुग्नुअघि एउटा युनिटले एकजना शंकास्पद ब्यक्ति पक्राउ गरेको सेटमा सुनाए । 

 

डीएसपी भण्डारीको टोली त्यता हानियो । 

 

त्यहाँ एकजना युवा थिए । जसलाई प्रहरीले शंका गरेर नियन्त्रणमा लिएको थियो । डीएसपी भण्डारीको टोलीले ती युवालाई गाडीमा राखेर सोधपुछ थाल्यो । 

 

‘हामी सम्भावित स्थानमा पुग्दै पनि थियौं,’ उनले भने, ‘ती युवाले एकजना साथीका बिषयमा कुरा खोले, हामीले उनैलाई आफु भागेर आएको र कहाँ भेटने सोध्न लगायौं ।’ उनको निशाना सही ठाँउमा लाग्यो । 

 

उताबाट आफु रहेको स्थान र आउनुपर्ने स्थानका बिषयमा खुलाएपछि कपिलवस्तु प्रहरीको अपरेशन टोली ढुक्क थियो । तर, यहीबिचमा सेटमा अर्को शंकास्पद ब्यक्ति पक्राउ परेको खबर आयो । 

 

प्रहरीले फेरि उनै युवालाई त्यही नम्बरमा फोन गर्न लगाए । यो फ्याक्ट चेक पनि सही निशाना थियो । उता प्रहरीले फोन उठाए । 
प्रहरीले करिब ३० मिनेटमा घटनामा संलग्न रहेको आरोपमा दुई युवालाई लुटिएको सुन सहित नियन्त्रणमा लिएको छ । 


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ कर्माका २७ वर्षीय हविव खान र सोही स्थानमा बस्ने २० वर्षीय उमेश मल्लाहलाई पक्राउ गरेर अनुसन्धान म्याद लिइएको हो । 

 

उनीहरुका साथबाट सुनपसलबाट लुटिएका तीनथान औठी र लु ४१ प ३१०२ नम्बरको मोटरसा्रइकल बरामद भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै