Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सत्तारुढ गठबन्धन कुनै हालतमा तोड्दैनौं : प्रधानमन्त्री देउवा

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन् ।

 

मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताए । उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह पनि गरे ।

 

गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको भन्दै उनले कांग्रेस पार्टीलाई सरकारमा ल्याएर आफूले राम्रो काम गरेको बताए । प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोहीसँग मिल्नै पर्ने बाध्यता रहेको धारणा राखे ।

 

लेनदेनकै आधारमा गठबन्धन बन्ने भएकाले केही न केही सबैले पाउनुपर्ने उनको भनाइ थियो । ‘ यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ अहिले बेस्सरी । गठबन्धन टुटेपछि फेरि त्यही हालत हुने हो । अस्ति जस्तो हालत भयो नि । ओलीको एमाले मिलेपछि के हालत थियो हाम्रो पार्टीको ? देशभरि कसरी हाम्रा साथी रोएका थिए ? हटाउनुप¥यो, हटाउनुप¥यो भनेको होइन ? त्यसकारण भोलि पनि त्यही अवस्था नआओस्,’ उनले भने ।

 

उनले नेपाल विद्यार्थी संघले कुनै पनि स्कुल, क्याम्पस तथा विश्वविद्यालयहरुको युनियन हार्नु नहुने बताए । उनले नेविसंघका नेताहरुलाई शहर केन्द्रित नभई गाउँ केन्द्रीत संगठन निर्माणमा जोड दिन आग्रह गरे । 

 

‘२७ सालमा जन्मिएको नेपाल विद्यार्थी संघ आज देशभरी नै सबै ठाउँमा क्याम्पस युनियनहरुमा, कलेजहरुमा, युनिर्भसिटी युनियनहरुमा हामी हारिरहेका छौँ । किन हार्दैछौँ ? यो कुरा ध्यान दिनुपर्ने भएको छ । स्कुल त गाउँमा छ नि । जबसम्म स्कुलभित्र नेविसंघ गठन हुँदैन तबसम्म भोलि आउने तिनै हुन् । अहिले एमाले, माओवादी यिनीहरु सबैले स्कुलमै बनाएका छन् कमिटी । स्कुल कमिटीबाट आउनेहरु धमाधम माथि आउने तिनै युवा हुन् । तिनै विद्यार्थी हुन् । हाम्रो त कहिँ पनि छैन । के भएको यो ? सम्पूर्ण देशभरीका कलेज र स्कुलहरुमा हाम्रो संगठन, पार्टी बनाउनुस्,’ देउवाले भने ।

 

प्रधानमन्त्री देउवाले पढाइमा फेल भएर विद्यार्थी नेता बन्न नसकिने भन्दै पढाइमा पनि अब्बल बन्नुपर्ने बताए । उनले नेविसंघको हातमा देश आइसकेकाले भविष्यमा नेतृत्व गर्नेगरी अहिलेदेखि नै तयारी साथ अगाडी बढ्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै