
होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले होटल व्यवसायलाई टिकाइराख्न आगामी बजेटमार्फत आवश्यक सम्बोधन गरिदिन सरकारसँग माग गरेका छन् ।
अहिले दोस्रो लहर आएकोले होटल व्यवसाय सञ्चालनमा अन्योल भएको र व्यवसाय टिकाउन सरकारले बजेट मार्फत विशेष सम्बोधन गर्नुपर्ने उनको माग छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उपाध्यक्ष शाहले सरकारले दिएको मापदण्ड होटल व्यवसाय सञ्चालनका लागि प्रतिकुल भएको पनि बताए ।
अहिले केही होटलहरु बन्द भइसकेको र अधिकांश व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेकाले बजेट मार्फत विशेष सम्बोधन गरिनुपर्ने उनको भनाइ छ ।
शाहका अनुसारफेरि पनि लकडाउन भएमा व्यवसायीहरु आर्थिक रुपमा थेग्न नसक्ने अवस्थामा पुग्नेछन् । त्यस्तो अवस्थामा होटल व्यवसायी, कर्मचारी र श्रमिकहरुको न्यूनतम जीवनयापनका लागि सरकारले राहत कोष निर्माण गरी सघाउनुपर्ने उनले बताए ।
यस्तै, उनले बजेटमार्फत रोजगार संरक्षण कोष घोषणा गर्न पनि माग गरे । सरकारले जारी गरेको मापदण्ड अनुसार विहान ८ बजेदेखि साँझ ८ बजे सम्म होटल सञ्चालन गर्न पाइने र २५ जना भन्दा बढी भेला हुन नपाउने भएपछि होटल क्षेत्र थप प्रभावित भएको छ । होटल व्यवसायीले सरकारले लागू गरेको मापदण्ड अनुसार काम गरिरहेको तर सरकार आफैले मापदण्ड विपरित काम गरेको देख्दा व्यवसायीहरुमा अन्योल बढेको पनि बताए ।
अब आउने बजेट यसअघिको भन्दा पृथक हुनुपर्ने पनि उनको भनाइ छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत घोषणा गरेको ५० अर्ब रुपैयाँको पुनरउत्थान कोषलाई रकम बढाएर निरन्तरता दिनुपर्ने उनको माग छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit