Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

उपचार मात्रैले संक्रमण नियन्त्रण हुँदैन, स्वास्थ्यका मापदण्डलाई पालना गर्नुपर्छ : डा. पाण्डव (अन्तर्वार्ता)

विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या पनि बढिरहेकाले उपचार भन्दा पनि स्वास्थ्यको मापदण्ड पालना गर्नेतर्फ सबै सचेत इमान्दार हुन आवश्यक रहेको बताएका हुन् । प्रस्तुत छ डा. पाण्डवसँगको कुराकारी सार :

 

अहिले विश्वमा फैलिएको संक्रमण कस्तो हो ?
 

विश्वभरी नै कोभिड १९ महामारी निरन्तर रुपमा चर्कंदो छ । अहिले संक्रमितहरुको संख्या बढिरहेको लगातार ९ हप्ता भयो र मृत्युको संख्या बढिरहेको लगातार ६ हप्ता । विश्वभर गत हप्ता पत्ता लागेका संक्रमणका घटनाहरु करिब करिब महामारीको पहिलो ५ महिनामा पत्ता लागेका घटनाहरुको बराबर थिए । गत हप्ता ५७ लाख संक्रमित पत्ता लागे भने ९३ हजार भन्दा बढी मानिसको मृत्यु भएको जानकारी विश्वस्वास्थ्य संगठनलाई प्राप्त भएको छ । 

 

महामारीको सुरुवातदेखि अहिलेसम्म संक्रमितहरुको संख्या १५ करोड नाघेको छ भने मृत्युको संख्या ३१ लाख । विश्वस्तरमा हेर्दा यो चिन्ताजनक स्थिति हो । अर्कोतर्फ विश्वभर नै नयाँ नया भेरियन्टको प्रभाव देखिएको छ । वर्षभरिको लकडाउन र नियन्त्रणको अन्य उपायपछि धेरै मान्छे भेलाहुने ठाउँ खुल्न थाले भने खोपको वितरण पनि अप्रयाप्त रह्यो । त्यसैले उल्लेख्य प्रगति हुँदा हुदै पनि संसारभरि विशेषतः दक्षिण पूर्वी एशिया र विकासशील राष्ट्रहरुमा खोपको वितरणमा अत्यासलाग्दो असन्तुलन छ ।

 

नेपाल भारतजस्ता देश किन यसको मारमा पर्दै छन् ? अरु देशले कसरी यसलाई नियन्त्रणमा लिए ?
 

जुनजुन देशले यसलाई निन्त्रण गरे वा महामारी नियन्त्रणमा केही प्रगति गरे तिनीहरुमा जनस्वास्थ्य सुरक्षा मापदण्डको मेहनतपूर्वक कार्यान्वयन भएको छ । आधारभूत रुपमा भन्नुपर्दा, फराकिलो पहुँच सहितको परीक्षण, घटना अनुसन्धान र सम्पर्क पहिचान र मानिसहरु सबै जनस्वास्थ्य तथा सामाजिक उपायहरु अवलम्बन गर्छन् भन्ने सुनिश्चित गरिएको थियो । राम्रो गर्ने देशहरुले वैज्ञानिक प्रमाण र सबल तथ्यांकका आधारमा नीति निर्माणहरु अपनाएका छन् । तर न्यून आय भएका देशहरु भन्दा उच्च आय भएका देशहरुको रोजाई अत्यन्तै फरक छ । 

 

बलियो स्वास्थ्य प्रणाली, स्वास्थ्य स्याहार तथा जनस्वास्थ्यको क्षमता निर्माणमा लगानी गरेका देशहरु नै कोभिड १९का कारण उत्पन्न संकट चुलिँदा त्यसको सामना गर्न बढी सक्षम भए । अहिले देशहरुमा के बुझाइ बढ्दो छ भने विगतको दशकमा स्वास्थ्य प्रणालीमा गरिएको अपर्याप्त लगानीको प्रतिफल नै कोभिड १९ को संकटको रुपमा दुर्भाग्यवश देखापरेको छ । तर यहाँ अवसरहरु पनि छन् । कोभिड १९ विरुद्ध लड्दै गर्दा अब हामीले बलियो स्वास्थ्य प्रणालीको निर्माण तथा जनस्वास्थ्य क्षमताको सबलीकरणबारे अत्यन्तै गम्भीर रुपमा सोच्नुपर्छ । ताकि आगामी वर्षमा यस्ता महामारीहरुको प्रभावकारी समाधान गर्न सकियोस् ।

 

नेपालको अवस्थाबारे विश्व स्वास्थ्य संगठनलाई पूर्वअनुमान थियो ? सरकारलाई सुझाव दिएको थियो ?
 

विश्व स्वास्थ्य संगठन आधारभूत रुपमा एउटा प्राविधिक निकाय हो । हामी नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड १९ संग सम्बन्धित विभिन्न क्षेत्र तथा विषयमा विश्वव्यापी प्रमाण तथा सुझाव उपलब्ध गराउँछौं । हामीले दिएको जानकारीलाई के गर्ने भन्ने कुरा सरकारले निर्णय गर्ने हो । यद्यपि हामी सरकारले लागू गर्न सकोस् भनेर सुझावलाई नेपालका लागि सुहाउँदो बनाउने प्रयास गर्छौं । कोभिड १९ महामारीको सुरुवातदेखि नै हामीले नेपाल सरकारलाई सुझाव, मानवीय स्रोत र सामाग्रीको सहयोग दिँदै आएका छौं । 

 

हामीले संक्रमण फैलिन नदिनका लागि अख्तियार गरेको नीति ठीक छ ? कि अझै फरक नीति लिनुपथ्र्यो ?
 

हामीसंग जनस्वास्थ्यका विभिन्न कार्यक्रमहरु छन् । जस्तै घटना अनुसन्धान, सम्पर्क पहिचान, जोखिममा रहेकाहरुको क्वारेन्टिन तथा संक्रमित तथा बिरामीहरुको आइसोलेसन । संक्रमणको विस्तार रोक्न वा कम गर्न मास्क लगाउने, हातको सफाई गर्ने तथा भौतिक दूरी कायम गर्ने उपाय पनि छन् । उपचारका लागि अक्सिजन र डेक्सामेथाजोन पनि छन् । कोभिड १९ को रोकथामका लागि विभिन्न सुरक्षित तथा प्रभावकारी खोपहरु पनि छन् । अब हामीले गर्नुपर्ने जरुरी काम भनेको यिनमा पहुँच विस्तार गर्नु , संक्रमण रोक्नु र जीवन बचाउनु हो । नेपालले कोभिड १९ विरुद्ध यी विभिन्न रणनीतिहरु अपनाएको छ । 

 

 

उपलब्ध साधनको निरन्तर र समतापूर्ण प्रयोग भएमा केही महिनामा नै यस महामारीलाई नियन्त्रण गर्ने विभिन्न साधनहरु हामीसंग छन् । खोप एक महत्वपूर्ण तथा शक्तिशाली उपाय हो । तर एउटामात्र उपाय होइन । भौतिक दूरी, मास्क, हातको सफाइ, हावा सञ्चार अर्थात् भेन्टिलेसन, निगरानी, परीक्षण, सम्पर्क पहिचान, आइसोलेसन, क्वारेन्टिन र स्नेहपूर्ण स्याहार सुसार । यी सबैले संक्रमण रोक्न र जीवन बचाउन सहयोग गर्छन् । हामीले विर्सनुहुन्न कि सही नीति हुनु भनेको समाधानको एउटा पक्ष मात्रै हो । अर्को पक्ष चाही यसको पूर्ण कार्यान्वयन हो । 

 

यो संक्रमण कहिलेसम्म रहला ? यसको फैलावटको अवस्था हेर्दा मानवसभ्यता नै सखाप हुने देखिन्छ ।
 

महामारीको रोकथाम सुनिश्चित गर्न हामीले भाइरस संक्रमणको श्रृंखला तोड्नुपर्छ । त्यसका लागि जनस्वास्थ्य व्यवहारका नयाँ मूल्य मान्यताको पालना गर्नुपर्छ । त्यसैले अगाडिको बाटो सहज त छैन किन कि हामी विश्वव्यापी आपूर्ति श्रृंखला अन्तर्गत नै काम गर्दै छौं । जहाँ धेरै प्रकारका निर्भरताहरु छन् । तर संक्रमण दर डरलाग्दो हुँदा हुँदै पनि हामीले निको हुने दर पनि बिर्सनु हुँदैन । जसले हामीलाई आशा दिन्छ । हाल नेपालमा करिब ८३ प्रतिशत मानिस निको भएका छन् । हालसालै संक्रमितको संख्यामा तीव्र वृद्धि हुँदा निको हुने दर घटेको अनि संक्रिय संक्रमितको संख्या बढेको देखिन्छ तर पनि आशावादी हुने कारण के छ भने २ सय ७५ भन्दा बढी खोपहरु विकास हुँदैछन् । जसमध्ये ९१ को चिकित्सकीय परिचालन सुरु भइसक्यो र विश्व स्वास्थ्य संगठन अनि सदस्य राष्ट्रका कडा नियामक निकायहरुले ती मध्ये कतिलाई आपतकालीन प्रयोगका लागि बाटो खोलिदिइसके । 

 

विकास प्रक्रियाको चरणमा रहेका यी खोपहरुले विभिन्न प्रकारका खोपका विधि र प्रविधि अपनाएका छन् । यी मध्ये केही निष्क्रिय बनाइएका पूर्ण भाइरस, इनएक्टिभिटेट होल भाइरस र भाइरल भिक्टर जस्ता पुराना अनि एमआरएनए र डिएनए जस्ता पहिलोचोटी प्रयोग भएका नयाँ प्रविधि छन् । यिनले धेरै किसिमका सुरक्षित तथा प्रभावकारी खोप पाउने हाम्रो सम्भावनालाई बढाएका छन् ।

 

अहिले खोपको अवस्था कस्तो छ ? नेपाल जस्ता देशले सहज रुपमा खोप पाउन किन सकिरहेका छैनन् ?
 

खोपको पर्याप्त उत्पादन राष्ट्रिय सहकार्यमा भर पर्छ । सर्वप्रथम त म के बताउन चाहन्छु भने खोप विकासको इतिहासमा कुनै पनि रोगको खोप यति छिटो विकास भएको छैन । त्यसैले अनुसन्धान, उत्पादन क्षमता, खरिद तथा ढुवानी प्रक्रियामा लगानी गर्न सम्पूर्ण विश्व एकीकृत हुने हो भने अभूतपूर्व तीव्रता हासिल गर्न सकिन्छ । कोभिड १९ त एउटा उदाहरण मात्रै हो ।  सरकारहरुबाट तत्कालै महत्वपूर्ण राजनीतिक तथा आर्थिक प्रतिबद्धता चाहिन्छ । उनीहरुको सहयोग विना विश्वस्वास्थ्य संगठनको विश्वव्यापी खोप सञ्चाल गाभी र महामारी तयारी नवप्रवर्तन गठबन्धन सेपीले यस महामारीको अन्त्यका लागि सबैतिर सबैलाई खोप पुर्याउन बनाएको कोभ्याक्सलाई विभिन्न सरकारहरुबाट ठूलो लगानी आवश्यक हुन्छ । नेपाल जस्तो देशहरुमा खोपको सुनिश्चितताका लागि पनि यो आवश्यक छ । 

 

नेपालले भारतको जस्तो अवस्था आउन नदिन के गर्नुपर्छ ?
 

जनस्वास्थ्य सुरक्षाका उपायहरुको पूर्ण पालना हुनुपर्छ र उच्च तथा तीव्र गतिमा खोपको विकास हुनुपर्छ । म बुझ्छु कि नेपालमा खोप ल्याउन एउटा चुनौती हो । तर हामीसँग देशभित्रै विभिन्न साधनहरु छन् । जुन अन्य देशहरुले पनि देखाइसकेका छन् । राम्रोसँग गरिने घटना अनुसन्धान, सम्पर्क पहिचान, संक्रमित बिरामीको आइसोलेसन अनि जोखिममा रहेकाहरुको क्वारेन्टिन । यिनै संकट समाधानका मन्त्र हुन् । अहिलेसम्म आइपुग्दा यी उपायहरु परिचित भइसकेका छन् । 

 

सँगै एक वर्षभरि नै निरन्तर लकडाउन हुँदा मान्छे तनावमा परी थाके त्यसपछि धेरैहदसम्म खुल्ला गरियो । तर मानिसहरुले सार्वजनिक स्वास्थ्य मापदण्ड पालना गर्दछन् र आफूसँग भएका स्रोतसाधनको उपयोग गर्दछन् भन्ने कुरा हामीले सुनिश्चित गर्नुपर्छ । विभिन्न देशहरुले धेरैभन्दा धेरै खोप बनाउँदै गर्दा खोप त आउला तर मुख्य कुरा तिनको निरन्तर र तीव्र प्रयोग कसरी सुनिश्चित गरिन्छ भन्ने पनि हो ।

 

अहिले निषेधाज्ञा छ । यो बेला सरकारले गर्नुपर्ने अनिवार्य काम पनि गरेन भन्ने गुनासो आइरहेको छ । प्राथमिकताको आधारमा केके काम गर्नुपर्छ ?  
विश्व स्वास्थ्य संगठनका धेरै सिफारिसहरु सरकारले आफ्ना मार्गदर्शन, निर्देशिका जस्ता दस्तावेजमा स्वीकार गरेकामा हामी खुसी छौं । सरकारका सबै तह र समुदायको स्तरमा पनि यसको निरन्तर कार्यान्वयन महत्वपूर्ण छ । समुदायको सशक्तीकरण र संलग्नता पनि जरुरी छ । कोभिड १९ को जटिलताका कारण  सरकार र समाजका सबै क्षेत्र र तहको एकीकृत प्रतिकार्य आवश्यक छ । साथै व्यक्तिगत प्रतिकार्यको महत्वलाई पनि कम आँक्नु हुँदैन । अहिले महामारीको बेलामा चाहिएको साहस भनेको सबै जनस्वास्थ्य तथा सामाजिक मापदण्डको पालना गर्नु हो । जस्तै : मास्क लगाउनुपर्यो । नियमित हात धुनुपर्यो । सामाजिक रुपमा नजिक रहेपनि भौतिक दूरी कायम गर्नुपर्यो । आफु पर्याप्त हावा बहने वातावरणमा भएको सुनिश्चित गर्नुपर्यो र भीडभाडमा जान भएन । यस महामारीलाई अगाडी बढ्नबाट नियन्त्रण गर्ने हो भने यी उपायहरुलाई निरन्तर पालना गर्नुपर्छ ।

 

नेपाली जनताका लागि केही भन्न चाहनुहुन्छ ?
 

सम्झाउन चाहन्छु कि, हामी सबै अगाडि बढ्नुपर्छ । आफू र अन्यलाई सुरक्षित राख्ने आफ्नो व्यक्तिगत जिम्मेबारी पूरा गर्नुपर्छ । सबैलाई आग्रह गर्न चाहन्छु कि क्रिपया जनस्वास्थ्य निर्देशिका पालना गरौं । मास्क लगाऔं । बारम्बार हात धोऔं । भौतिक दूरी कायम गरौं र उपलब्ध हुनासाथ खोप लगाउन आनाकानी नगरौं ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै