Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

यसरी बन्छ टोखामा चाकु

माघे संक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याईनभ्याई छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेको छ त्यसैले यो समयमा चाकुको खपत पनि बढी हुन्छ । यस वर्ष कोभिड–१९ को प्रभावका कारण चाकुको माग कम छ । तरपनि उद्यमीहरुलाई चाकु बनाउन भ्याइनभ्याई छ । 

 

काठमाडौंको टोखा चाकुका लागि प्रशिद्ध शहर हो । टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा छन् । माघे सक्रान्ति नजिकिएसँगै टोखाका चाकु उद्यमीहरुलाई चाकु बनाउन भ्याईनभ्याई छ । सख्खरलाई पकाएर राम्रोसँग फेटेपछि निर्माण हुने चाकु माघे सक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । 

 

 

माघे सक्रान्तिलाई नेवारीमा ‘घ्यःचाकु संल्हू’ भनिन्छ । नेवारी समुदायमा माघ एक गते मनाईने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । टोखा चाकु प्रोडक्सनका सञ्चालक हंसराज श्रेष्ठले यस वर्ष कोभिडको कारण चाकुको माग कम भएको जानकारी दिए । खासगरी चाकु जाडो महिनामा खाने प्रचलन छ ।

 

 

जाडो महिनामा चाकु खाँदा शरिर तात्ने भएकाले पनि पुस लागे देखि नै चाकुको माग बढ्ने गर्छ । माघे संक्रान्तिमा चाकुको माग बढ्ने भएकाले चाकु बनाउने कामलाई उद्यमीहरुले तिब्रता दिएका छन् । यसवर्ष सख्खरको मूल्य बढेको भएपनि चाकुको मूल्य नबढाइएको श्रेष्ठले बताए । 

 

चाकु बनाउन पहिला उखुलाई पेलेर रस निकालिन्छ र उक्त रसलाई पकाएर सख्खर बनाइन्छ । हिजो आज टोखामा तराइबाट खरिद गरी ल्याइएको सख्खरबाट चाकु बनाइन्छ ।

 

सख्खरलाई करिब तीन घण्टा सम्म पकाउने, करिब आधा घण्टा सम्म चिस्याउने र राम्रोसँग तन्काएर ताडनुपर्छ । जसले गर्दा चाकुको रंग रातो हुन्छ भने खानको लागि पनि नरम र स्वादिलो हुन्छ । श्रेष्ठका अनुसार ५० केजी चाकु बनाउन करिब ५ घण्टा लाग्छ ।

 

 

चाकु उत्पादनमा टोखा प्रसिद्ध भएको कारण मानिसहरु चाकु किन्नका लागि टोखा सम्म पुग्ने गर्छन । टोखाको चाकु सबैभन्दा धेरै उपत्यकामै विक्री हुने गर्छ भने विदेशबाट समेत माग आउने गरेको व्यवसायीहरु बताउँछन् । टोखामा परम्परागत शैलीबाट चाकु बनाइने हुँदा पनि मानिसहरुले टोखाकै चाकु खान मन पराउँछन् ।

 

प्रतिक्रिया

2
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै