
नेकपा (एमाले) का नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताएका छन् ।
बुधबार नेकपा(एमाले) माधव समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरको गतिविधिका विरुद्ध देशव्यापी रुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफुहरुको अभियान जारी रहने बताए ।
उनले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा(एमाले)को विधान विपरित केन्द्रीय कमिटीलाई भंग गरेको आरोप लगाए । उनका अनुसार कथित आयोजक कमिटी बनाएको र मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टिकरण सोध्ने गतिविधि स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् ।
उनले यसको विरुद्धमा देशव्यापी रुपमा कार्यकर्तालाई नेकपा(एमाले)को सिद्धान्त, नीति, कार्यक्रम र यसको विधानको रक्षाको लागि जुन अभियान चलाएको दाबी गरे ।
नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको समेत बताए । सरकारले प्रभावकारी काम गर्नको लागि आव्हान गर्ने निर्णय आफुहरुको भेलाले गरेको उनको भनाई छ ।
नेता रावलले अध्यक्ष ओलीले आफुहरुलाई कारबाही गर्ने भन्नेकुरा गलत भएको बताए । नेपालको कानुन बमोजिम ओलीले आफुलाई कारबाहि गर्न नसक्ने उनको तर्क थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit