
प्रधानमन्त्री केपी शर्मा ओलीले २३ माघमा काठमाडौंमा आयोजना हुने जनसभा मार्फत ‘अति गोप्य’ राजनीतिक खुलासा गर्ने दाबी उनको पक्षका नेताहरुले गरेका छन् ।
नेकपा बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौँको रत्नपार्कमा जनसभा हुन् लागेको हो । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको बास्तविकता जनतालाई जानकारी गराउने उद्देश्यले जनसभा आयोजना गर्न लागिएको बताए ।
जनसभा सफल पार्नको निम्ति नेकपाका नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरेको भएको छ ।
जनसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा व्यक्तिकेन्द्रीत आरोप–प्रत्यारोप नगरी विधिसम्मत् राजनीतिक र व्यवहारिक कुरा गर्ने बताए । उनले २३ गतेको जनसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन मार्फत वर्तमान राजनीतिक परिवेशको सम्बन्धमा गोप्य रहेको कुरा सार्वजनिक गर्ने समेत बताए ।
उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका नेता ईश्वर पोखरेलले संविधानको रक्षा र राजनीतिक स्थायित्वको पक्षमा जनसभा आयोजना गर्न लागिएको बताएका छन् ।
सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठन कमिटीको आयोजनामा २३ माघमा काठमाडौँमा हुने जनसभाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले जनसभा राजनीतिक स्थायित्वको पक्षमा तथा अस्थिरता सिर्जना गर्ने प्रयत्नको विरुद्दमा आयोजना गरिएको बताए । संविधानको रक्षा, आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त भइरहोस् भन्नका निम्ति जनसभा आयोजना गरिएको उनको भनाई थियो ।
उपप्रधानमन्त्री पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहालले २८ कात्तिकमा अध्यक्ष ओलीलाई लगाएको आरोप तथा अभियोगपत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन तयार भए अहिलेको विषय टार्न सकिने समेत बताए ।
उनले निर्वाचन आयोगले आइतबार गरेको नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्णय सकारात्मक रहेको बताउदैं आफुहरुले पार्टीबाट कसैलाई निस्कासन नगरेको र कसैले चाहेर पनि पार्टी फुटाउन नसक्ने दाबी गरे । आयोगको निर्णयले केपी ओली नेतृत्वको नेकपालाई बल पुग्ने उनको भनाई छ ।
नेकपाले २१ माघमा १० हजार मोटर साइकल ¥याली पनि गर्ने भएको छ । जनसभामा बागमती प्रदेश अन्र्तगतका १३ जिल्ला र उपत्यका विशेष प्रदेशका ४ जिल्ला गरी १७ जिल्लाका नेता कार्यकर्ताको नेतृत्वमा जनपरिचालन गरी सभालाई सफल बनाइने बताइएको छ । सभामा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र सदस्यहरुले जनताको नेतृत्व गरी ¥याली सहित जनसभामा सहभागी हुने बताइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit