
प्रधानमन्त्री केपी शर्मा ओलीले बैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप भइरहेको टिप्पणी गरेका छन् । उनले यो नीतिले वन तथा त्यसमा निर्भर बन्यजन्तु सखाप हुँदै गइरहेको बताएका हुन् । उनले वनसँग सम्बन्धित नीतिहरु बनाउँदा उपभोक्ताहरुको साथ लिएर बनाउने समेत बताए ।
मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका निम्ति पनि जनताको साथ लिनुपर्नेमा जोड दिए । उनले वैज्ञानिक वन व्यवस्थापनको नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको बताए ।
उनले भने ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहीँ ठानेको थिइन । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होईन, वैज्ञानिक नीति हुनुप¥यो ।
दिगो वन विकास नीति हुनुप¥यो । प्रतिफल दिने
विकास नीति हुनुप¥यो । र यो कुरा के भने हामि नीतिहरु बनाउँदा तपाईहरुको साथ लिएर बनाउँछौ । जनताको साथ लिएर बनाउछौ । उपभोक्ताको साथ लिएर बनाउँछौ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जिवजन्तुको संरक्षण, सुरक्षा आदि इत्यादी सबैकुरा जनताको साथ लिएर बनाउँछौँ ।’
प्रधामन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरुले वनको संरक्षण गर्न भुमिका खेलेको बताए । उपभोक्ता समितिहरुले नष्ट भइसकेका वनहरुलाई पुर्नजिवन दिएको उनको भनाई छ ।
‘सायद उपभोक्ता समितिहरु नबनेका भए, सामुदायिक वनहरुको रुपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो । नष्ट भइसकेका वनहरुलाई वन उपभोक्ता समितिहरुले तिनलाई पुर्नउत्थान गरेका छन् । तिनलाई पुर्नजिवन दिएका छन् । र हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टि जस्ता कुराहरुलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा यी सबै कुरामा धेरै ठुलो योगदान पुगेको छ,’ प्रधानमन्त्री ओलीले भने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit