Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

हिमालय र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य


हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् ।

 

हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन् ।     

 

एप्लिकेशन प्रोगामिङ इन्टरफेस (एपिआइ) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले हस्ताक्षर गरेको यती एयरलाइन्सले जनाएको छ ।     

 

नेपाल र चीनको संयुक्त लगानी रहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले हाल मध्यपूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ भने निजी लगानीको यती एयरलाइन्सले नेपालभर सञ्जाल विस्तार गरी विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।     

 

सम्झौताअनुसार दुवै एयरलाइन्सले आ–आफ्नो टिकट जारी गर्ने, नयाँ सेवालाई समावेश गर्ने, यात्रुलाई टिकट खरीदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरूले जनाएका छन् । यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ ।     

 

हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले दुई एयरलाइन्सबीचको सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए । ‘व्यवसाय विस्तारका लागि नयाँ मार्गहरू खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ,’ उनले भने ।     

 

यती एयलाइन्सका सिइओ रिमालले हिमालय एयरलाइन्सलाई साझेदारका रूपमा पाउँदा आफूहरूलाई खुशी र उत्साहित बनाएको बताए । उक्त सहकार्यले व्यावसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

उद्यमीहरु निर्वाचनमा ब्यस्त भइरहँदा शेयर बजारमा नयाँ छलाङ

शेयर बजारले बिहीबार ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको पाँचौ दिनको कारोबारमा नेप्से परिसूचक र खरिदविक्री रकम दुबै अहिलेसम्मको अधिकतम सीमामा पुगेर नयाँ रेकर्ड बनाएको हो...

माघ १५, २०७७