
काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ–कनेक्ट (इन) तेस्रो संस्करण सुरु भएको छ ।
आज काठमाडौंमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा कन्क्लेभको उद्घाटन गरेका हुन् ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कन्क्लेभको आयोजना गरिएको हो । महोत्सवअन्तर्गत वैशाखको ५ देखि ७ गतेसम्म पहिलो पटक ‘इन्डिया एट७५ आइडियाथन’ को आयोजना गरिँदै छ ।
यो कन्क्लेभ २०२२ को फेब्रुवरीको पहिलो सातामा गर्ने तय भएको थियो तर कोरोना महामारीका मार्चमा सारिएको हो । कार्यक्रमको सह–आयोजकमा क्लकबी बिजनेस इन्नोभेसन्स छ भने अन्य साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडिटेक र टुटल समावेश छन् ।
यसका अघिल्ला दुई संस्करणहरुमा कनेक्ट (इन) ले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पूँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको थियो ।
भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन अघिल्ला दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिने तेस्रो संस्करणको उद्देश्य रहेको छ ।
हालको संस्करणमा कनेक्ट (इन) ले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका संघर्षको कथालाई समावेश गरेको छ । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो तथा तथ्यांक विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी इलुसिडाटा छन् । नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप तथा ई–कमर्श पोर्टल सस्तो डिल छन् ।
कन्क्लेभमा तीनवटा टोली बनाई सुरुवाती चारणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पूँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागता व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत छलफल गरिने दूतावासले जनाएको छ । सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रित रही काम गर्ने लगानीकर्ता कम्पनी यात्रा एन्जल नेटवर्क र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी क्रेडिन्स सहभागी हुनेछन् ।
दूतावासका अनुसार नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजन रहनेछन् । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुले पनि बोल्नेछन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit