Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

संसदमा नारायणकाजीले सोधे– एमसीसी खारेज भएको हो ?

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सरकारसँगै एमसीसी परियोजनाबारे स्पष्ट पार्न आग्रह गरेका छन् ।

 

 

मंगलबार बजेटबारे छलफलको क्रममा राष्ट्रिय सभाको बैठकमा उनले लप्सीवेदी,रातमाटे, हेटौंडा, दमौली, बुटवल, गोरखपुर ४ सय केबीको प्रशारण लाइन निर्माण गर्ने कार्य अगाडि बढाइने कुरा बजेटमा प्रस्तुत भएको तर एमसीसी योजना अन्तर्गत हो वा एमसीसी खारेज भएको अर्थमा बुझेर अर्थमन्त्रीले आफैँले प्रस्ताव राखेका हुन् भन्ने बारेमा सरकारसँग जवाफ मागेका हुन् ।

 

उनले यसअघि नै सरकारले एमसीसी परियोजना अन्तर्गत १२ बुँदे कार्यान्वयन गर्ने कुरामा अमेरिकाले सहमति नजनाए त्यही दिन यो खारेज हुने उल्लेख गरेको तर अमेरिकाले१२ बुँदे व्याख्यात्मक घोषणाको बारेमा हालसम्म एक शब्द पनि नबोलेको बताएका हुन् । 

 


यद्यपि प्रशारण लाइन निर्माण गर्ने कार्य अर्थमन्त्रीको व्यक्तिगत प्रस्ताव भएको खण्डमा सरकार र अर्थमन्त्री धन्यवादको पात्र रहेको उनले बताए ।  सरकारले यस बारेमा स्पष्ट पार्न आवश्यक रहेको उनको भनाइ छ । 

 

 

नेता श्रेष्ठले सरकारले प्रस्तुत गरेको बेजटमा असन्तुष्टि समेत व्यक्त गरे । उनले नेपालको विकासको निम्ति बढी महत्वको कुरा भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासन भएको तर बजेटमा राम्रोसँग खुल्न नसकेको बताए ।

 

 

नेता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न नसके पूँजिगत खर्च कार्यान्वयन अघि बढ्न नसक्ने बताए । उनले बजेटमा सरकारले मितव्ययिता गुणत्मक ढंगको नीति लिन नसकेको आरोप लगाए । नेता श्रेष्ठले बजेटमा सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको आरोप लगाए । 

 


नेता श्रेष्ठले सार्वजनिक सवारीसाधनमा राज्यको दायित्व के हुन्छ भन्ने बारेमा सरकारले अहिले प्रष्ट नबोलेको भन्दै सार्वजनिक सवारीसाधनको मुल जिम्मेवारी र ठूला पारवाहनसँगको मूल जिम्मेवारी सरकारले लिनुपर्ने बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै