
निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पतालाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ ।
मंगलबार निर्मल लामा स्मृति प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता डा.लिलामणि पोख्रेलको पहलमा अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ सहभागी कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनु पर्ने बताएका छन् । उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने बताएका छन् । उनले प्रतिष्ठानमा अहिले १५० वटा आईसीयू बेड भएको र उक्त बेड देशका विभिन्न सामुदायिक र सरकारी अस्पताललाई उपलब्ध गराउने पनि जानकारी दिएका छन् ।
‘आईसीयू बेड वितरण हामीले सरकारी अस्पताल र सामुदायिक अस्पताललाई हस्तान्तरण गरेका हौँ । अन्यत्र प्राइवेटमा नदिने भनेर प्राइवेट मुनाफा बोकेको मुनाफामुखी हुन् । सरकारी र सामुदायिक अस्पतालमा वितरण गर्ने भनेर हामीले यो कुरा गरेका हौँ । त्यसैले पहिलो हाम्रो प्राथमिकता वीर अस्पताल नै थियो जनताको । हामीले हाम्रो संविधानमा शिक्षा, स्वास्थ्यलाई निःशुल्क गराउने भनेका छौँ । हाम्रो प्रयत्न भनेको शिक्षा र स्वास्थ्य पूर्ण निःशुल्क हुनुपर्छ । यो मौलिक अधिकार हो, फन्डामेण्टल राइट हो । पैसा हुनेले स्वास्थ्य किन्ने, पैसा हुनेले शिक्षा किन्ने प्रणालीको अन्त्य गरेर आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यता अन्तर्गत हामी स्वास्थ्य र शिक्षा क्षेत्रलाई त्यो दिशामा लैजानुपर्छ भन्ने मान्यता राखेका थियौँ’ उनले भने ।
त्यस्तै, वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरुको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताएका छन् । उनले प्रतिष्ठानले दिएका ३० बेड आजबाटै सञ्चालनमा ल्याउने बताएका छन् ।
‘अहिले दुई तीन वटा आईसीयू त अलरेडि फङ्सनिङ छ । हामीलाई एउटा आईसीयूको लागि एफएचआइयूएसएडले ५० वटा बेड भेन्टिलेटरसहित सम्पूर्ण सामान दिएको छ । सूर्य नेपालले १०० वटा बेड दिएको छ । एफएचआईले नै १०० बेड अर्को थपेको छ । यहाँहरुले आज ३० वटा आईसीयू बेड दिनुभएको छ । एउटा आईसीयू खालि हामी त्यसमा राखेर आजैबाट सेवा सुरु गर्नेछौँ । यो सबैको सहयोगले गर्दा तेस्रो लहरमा कोरोनाका बिरामीहरु आज पनि १६०/१७० जना बिरामीहरु हुनुहुन्छ । सबैको उपचार सहज रुपले भएको छ । आज अक्सिजन, बेड, भेन्टिलेटर पाइएन भन्ने नै छैन’ उनले भने ।
उनले संस्थाहरुको सहयोगले नै कोरोनाको तेस्रो लहरमा अक्सिजन, भेन्टिलेटर र आईसीयू बेड उपलब्ध गराउन सहज भइरहेको पनि बताएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit