Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

जोरविजोरमा यातायात चलाउने विषय अव्यवहारिक: यातायात व्यवसायी

विभिन्न यातायात व्यवसायीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै काठमाण्डौ उपत्यकामा असार १५ गतेदेखि लागु हुने गरी २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनलाई मात्रै जोरविजोरका आधारमा चल्न दिने गरी काठमाण्डौ, ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले गरेको निर्णयप्रति आपत्ती जनाएका छन् । 

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले उक्त निर्णयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।


जोरविजोरमा चलाउने उक्त निर्णय असार १० गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको कार्यकक्षमा डिसिसीएमसी सहित सरोकारवालाहरुको सुझाव र छलफलमा भएको निष्कर्ष विपरित रहेको स्मरण गराउदै उनीहरुले यो निर्णय अव्यवहारिक रहेको ठहर गरेका छन् । 


कोरोना महामारीको दोस्रो लहर फैलिएसंगै यही गत बैशाख १६ गतेबाट देशै भरी निषेधाज्ञा जारी भएपछि २ महिनादेखि सार्वजनिक यातायात बन्द रहेको थियो । 

 

लामो बन्दावन्दी पछि क्रमशः निषेधाज्ञा खुकुलो हुँदै गईरहेको निजी सवारी, अन्य व्यापार, व्यवसाय तथा बजार क्रमशः खुल्दै गईरहेको र अर्थतन्त्रलाई गतिशिल बनाउने जनताको दैनिक जीवनयापनलाई सहज बनाउने जस्तो महत्वपूर्ण सार्वजनिक यातायात क्षेत्र सञ्चालन गर्न नदिनु अत्यन्तै अव्यवहारिक रहेको उनीहरुले विज्ञप्तिमा जनाएका छन् । 


आन्तरिक हवाई यातायात समेत सुचारु गरिएको अवस्थामा सरकारले गरेको निर्णयले गम्भीर सकट उत्पन्न हुने भन्दै उनीहरुले उक्त निर्णयलाई सच्याउदै सबै प्रकारका र देशैभरीका सार्वजनिक सवारी साधनहरु(लामो दुरी,मध्यम दुरी र छोटो दुरी) सञ्चालन अनुमतिका लागि अनुरोध गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै