Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यमले विज्ञापनको कारोबार गर्न नपाउने

सरकारले विज्ञापन बोर्डमा सूचीकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापनको कारोबार गर्न नदिने भएको छ ।

 

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले आगामी साउन १ गतेदेखि लागू हुनेगरी सो व्यवस्था गर्न लागिएको बताएका हुन् । त्यसका लागि बोर्डले तत्काल सबै सञ्चारमाध्यमहरुको सूचीकरण गर्ने कामलाई अघि बढाउने योजना बनाएको छ । 

 

बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीहरुले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताए । 

 

बोर्डले शुक्रबार र शनिबार काठमाडौंमा आयोजना गरेको विज्ञापन सम्बन्धी तालिम कार्यक्रममा उनले भने, ‘विज्ञापन बोर्डले निकट भविष्यमा नै सञ्चारमाध्यमहरुको सूचीकरण गर्ने, सञ्चारमाध्यमहरुलाई वर्गीकरण गर्ने र सञ्चारमाध्यमहरु विज्ञापन बोर्डमा सूचीकरण नभई विज्ञापनको कारोबार गर्न नपाउने एउटा व्यवस्था गर्दैछौं ।’

 

‘अर्को विज्ञापन एजेन्सीहरु पनि विज्ञापन बोर्डमा सूचीकरण हुनुपर्ने र सूचीकरण भएपछि मात्रै विज्ञापनको कारोबार गर्न पाउने गरी हामी व्यवस्थापन गर्दै छौं । यी व्यवस्थाहरु आगामी साउन १ गतदेखि लागू हुनेछन्,’ उनले भने ।

 

बोर्डले विज्ञापन बजारलाई पारदर्शी बनाउन, विज्ञापन व्यवसायमा संलग्नहरुलाई दक्ष बनाउन सो तालिम संचालन गर्नु परेको पनि स्पष्ट पारेको छ । बोर्डले आगामी वर्ष विज्ञापन बजारको अनुसन्धान गरी उनीहरुको साइज एकीन गर्ने, आम सञ्चारमाध्यमहरुको लोकप्रियताको समेत एकीन हुने गरी रिसर्चको काम सम्पन्न गरी त्यसलाई सार्वजनिक गर्ने योजना पनि तय गरेको छ । 

 

विज्ञापन बोर्डले हाल तर्जुमा गरिएको विज्ञापन ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न पनि विज्ञापन व्यवसायमा संलग्नहरुलाई त्यस सम्बन्धी तालिम दिने कामलाई निरन्तरता दिन लागिएको जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै