Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

अस्थायी उपाय अपनाएर मेलम्ची ल्याउन ठेक्का भइसकेको छ : खानेपानी मन्त्री चौधरी

खानेपानीमन्त्री उमाशंकर चौधरीले हाल अस्थायी उपायको रुपमा मेलम्चीको पानी पथान्तरण गरी काठमाडौं उपत्यकामा ल्याउन निर्माण कम्पनी सिनो हाइड्रोसँग आवश्यक प्रक्रिया पूरा गरी ठेक्का सम्झौता गरिसकिएको बताएका छन् । निर्माण कम्पनी निर्माणस्थलमा परिचालित भई काम सुरु गरिसकेको उनको भनाइ छ । 

 

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एसियाली विकास बैंक (एडीबी) ले मेलम्चीमा आएको बाढी र पहिरोको क्षतिको विवरण, त्यसको कारण र स्थायी समाधानका उपायको लागि जलाधार संरक्षण गर्ने विषयमा अध्ययन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गरिने उनले जानकारी दिए ।  

 

मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने प्रणालीलाई चुस्त र दुरुस्त गर्न मेलम्ची सब प्रोजेक्ट २ अन्तरगत हालै मात्र १०० किलोमिटरको सर्ट रन टेस्ट सम्पन्न भएको र हालसम्म जम्मा ३५० किलोमिटरको सर्ट रन टेस्ट पूरा भई पानी सञ्चालनको लागि तयारी पूरा भएको उनले स्पष्ट पारे । 

 

यस्तै, मन्त्रालयले खानेपानी महशुल निर्धारण आयोग गठन प्रक्रिया अगाडि बढाएको छ । आइतबार खानेपानीमन्त्री उमाकान्त चौधरीले पत्रकार सम्मेलन गरी मन्त्रालयले आयोग गठन प्रक्रिया अगाडि बढाएको बताएका हुन् । 

 

आयोग गठनपछि समयसापेक्ष, वैज्ञानिक एवम् व्यावहारिक महशुल दर निर्धारण हुने अपेक्षा आफूले राखेको मन्त्री चौधरीले बताए । त्यस्तै राज्यको ठूलो लगानी भइसकेका र अलपत्र परेका आयोजनालाई पूर्णता दिन नीतिगत सुधारका लागि प्रक्रिया अगाडि बढाइएको पनि उनले जानकारी दिए । 

 

आगामी दिनमा मन्त्रालयले खानेपानीका स्रोतहरुका संरक्षण र मूल फुटाउ अभियान संचालन गर्न एकीकृत जलस्रोत संरक्षण व्यवस्थापन गर्न विशेष कार्यक्रम ल्याउने उनले बताए । मन्त्री चौधरीले दिगो विकासको लक्ष्य २०३० हासिल गर्न गुणस्तरीय खानेपानी वितरणको लागि पानीको परिक्षणलाई व्यापकता दिइने र प्रशोधनयुक्त ढल प्रणालीको लागि यसै वर्षबाट विशेष कार्यक्रम सञ्चालनमा ल्याइने उल्लेख गरे । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै