
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् ।
राज्यमन्त्री श्रेष्ठले सरकारले दशैं अघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए ।
वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाइ छ । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए ।
उनले भने, ‘करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाई सकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले १ करोेड ७७ लाख खोप ल्याइसकेका छौं । यो दशैंसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु । हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाएका छौं । फ्रन्ट लाईनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ । बालबालिकाहरुका लागि पनि १ करोड खोपको सुनिश्चित गरिएको छ ।’
राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदुषणबाट बच्ने र नियमित शारिरीक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साढे ३२ किलोमिटर साईकल ट्रयाक बनाएको जानकारी दिए । उनले साईकल चढेर नागरिकहरुले शारिरीक व्यायाम गरुन भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साईकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताए ।
कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. रवी मल्ल, क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, स्थायू रोग विशेषज्ञ डा. बसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit