Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

बैशाखमै चुनाव भएपनि सामना गर्न तयार छौँ : माधव नेपाल

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताएका छन् ।

 

 

अध्यक्ष नेपालले चुनावबाट आफूहरु नआत्तिएको भन्दै जुनसुकै बेला पनि सामना गर्न तयार रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी समेत गरेका छन् । 

 

 

उनले एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको आरोप लगाउँदै त्यो प्रयास सफल हुन नदिने बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिबद्ध रहेको पनि बताएका छन् । 

 

 

‘चुनावसँग हामी आत्तिएका छैनौं । चुनाव यही बैशाखमै हुन्छ भने पनि हामी हामी सामना गर्न तयार छौं । चुनाव यदि जेष्ठमा हुन्छ भने पनि हामी सामना गर्न तयार छौं । असारमा गर्ने हो भने सामना गर्न तयार छौं । असोजमा गर्ने हो भने सामना गर्न तयार छौं । स्थानीय तहको पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । केन्द्रीय चुनाव पहिले हुन्छ भने पनि सामना गर्न तयार छौं । चुनावबाट हामी आत्तिएका छैनौं । जनतामा जाने कुराबाट हामी अत्यन्त खुसी पनि हुन्छौं’ उनले भने । 

 

 

‘यस अर्थमा चुनावको कुराबाट बरु अरु आत्तिएका होलान् । गठबन्धनको एकता तोडन खोजिरहेका होलान । भ्रम पैदा गर्ने कोसिस गरिरहेका होलान । अनि चुनावको कुरा गरिसकेपछि गठबन्धन दलको बीचमा उम्मेदवारीमा कुरा मिल्दैन । नमिलेपछि गठबन्धन टुट्छ । टुटिसकेपछि त्यसको फाईदा उठाउला भनेर कोही त्यो मौकाको ताकमा पनि कोही होलान । तर आज बिहान भएको बैठकमा पनि नेपाली कांग्रेसका सबै नेताहरुले यो गठबन्धन चुनावसम्म कायम राख्नुपर्छ भन्ने साझा प्रतिबद्धता व्यक्त गर्नु भएको छ । स्वयम् प्रधानमन्त्रीले पनि त्यही हिसाबको प्रतिवद्धता व्यक्त गर्नु भएको छ’ उनले भने ।

 

 

‘गठबन्धन दलले जे निर्णय गर्छ, त्यसको आधारमा म चल्न तयार छु । र, गठबन्धनले जहिले चुनाव गर्ने भन्छ, त्यसको निम्ति पनि म जान तयार छु भनेर भनि सकेको हुनाले त्यसमा कुनै पनि किसिमको शंका, उपशंका गर्नुपर्ने आवश्यक्ता छैन । अवश्य पनि नेपाली काँग्रेस भित्र र नेपालको राजनीतिमा देशीविदेशी शक्तिहरुको अनेक खालका दाउपेचहरु पनि छन । गठबन्धन टुटोस् भन्ने चाहना राख्नेहरु पनि छन । गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरु पनि होलान । त्यस मामलामा सबैभन्दा चर्को रुपमा केपी ओली आफै लागेका छन । अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरु फालेर उनले दाउपेचहरु दिईरहेका छन । यो कुनै दाउपेचले चल्नेवाला छैन’ उनले भने ।

 

उनले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने धारणा पनि राखेका छन् । उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दाबी समेत गरेका छन् । उनले संवैधानिक व्यवस्था अनुसार चुनाव हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरेका छन् । 

 

 

‘स्थानीय तहको निर्वाचनबारे संविधानमा लेखिएको कुरालाई हामीले सबभन्दा पहिला ध्यानमा राख्नु पर्दछ । संविधानको धारा २२५ मा प्रष्ट लेखेको छ–कि गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भईसकेको समयदेखि ६ महिना भित्र निर्वाचन सम्पन्न गर्नु पर्नेछ । अर्थात सम्पन्न भएको पाँच वर्ष पूरा भएको समयदेखि ६ महिना भित्र अर्थात गाउँसभा र नगरसभाको चुनाव कहिले सम्पन्न भयो ? भनेर हामीले त्यो समयलाई हेर्नु पर्दछ’ उनले भने । 

 

 

‘त्यो समयलाई हेर्ने हो भने अव विवाद जतिसुकै भएता पनि असोजको २ गते अन्तिम चुनाव भएको मितिलाई आधार मान्न सकिएला । या त्यसको पाँच दिन भनौ ७ गते चुनावको मतगणना भएको दिनलाई जोड्ने हो भने असोजको पहिलो, दोस्रो हप्ता भनेपछि ७९ सालको असोजको दोस्रो हप्तासम्मलाई मान्न सकिएला । र त्यसको ६ महिना भित्र, त्यसको ६ महिना भित्र भनेको चैत्रसम्ममा, यो सवालको बारेमा यसबारेमा अनेकौ भ्रम बाहिर पैदा गर्न खोजिएको छ । यो भ्रमलाई चिर्नुपर्ने आवश्यक्ता छ’ उनले भने ।

 

 

उनले कांग्रेस नेताहरु गठबन्धनमा आबद्ध दलहरुको सहमतिमा स्थानीय तहको निर्वाचन गराउन सहमत रहेको बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै