Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बेलारुसमा १ हजार राजनीतिक बन्दी, रिहा गर्न अमेरिकाको आग्रह

बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को र अमेरिकाका राज्य सचिव एन्टोनी ब्लिंकेन

गत डिसेम्बरमा बेलारुसका विपक्षी नेतालाई विवादित नेता राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोविरुद्ध जनप्रदर्शन गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइयो । विपक्षी नेता सर्गेई टिखानोव्स्कीलाई ठगीसहित दंगा आयोजना गरिएको अभियोग लगाइएको थियो । 

 

उनले सन् २०२० मा राष्ट्रपतीय निर्वाचनमा लुकासेन्कोलाई चुनौती दिने योजना बनाएका थिए, तर मतदानअघि नै उनी पक्राउ परेका थिए । त्यसपछि उनकी श्रीमती स्वेतलाना तिखनोव्स्काया निर्वाचनमा उठेकी थिइन् । तर, लुकासेन्कोले आफू विजयी भएको दाबी गरे ।

 

स्वेतलानाले आफूले जितेको दाबी गरे पनि सुरक्षाको डरका कारण भोलिपल्ट नै उनी छोराछोरीसहित निर्वाचसनमा जान बाध्य भइन् । आफ्नो श्रीमानमाथि भएको सजाय पनि व्यक्तिगत बदला भएको बताएकी छन् । 

 

युरोपको राज्य बेलारुसमा कसरी राजनीतिक कैदीहरु प्रताडित भइरहेका छन् भन्ने यो एउटा उदाहरण हो । हालै अमेरिकाका राज्य सचिव एन्टोनी ब्लिंकेनले जारी गरेको विज्ञप्तिमा पनि लुकासेन्कोको शासनमा १ हजारभन्दा बढी राजनीतिक बन्दीहरु रहेको जनाइएको छ । 

 

लुकासेन्को शासनविरुद्ध अभिव्यक्ति दिएको र भेला गरेको आरोपमा उनीहरुलाई बन्दी बनाइएको विज्ञप्तिमा जनाइएको छ । सन् २०२० को अगस्टमा बेलारुसमा भएको राष्ट्रपति चुनावमा लुकासेन्कोले  धोकाधडी गरेको र उनको हालसम्मको कार्यकालमा दसौं हजार निर्दोष बेलारुसीहरुले जेलजीवन बिताइसकेको विज्ञप्तिमा उल्लेख छ । 

 

अमेरिकाले आफ्नो सहयोग र साझेदारहरुसँगको समन्वयमा लुकासेन्कोका अधिकारीहरु र समर्थकमाथि पाँच चरणमा प्रतिबन्धहरु लगाएको छ । बेलारुसी जनतामाथि दमन नरोकिएसम्म र राजनीतिक बन्दीहरुलाई विना शर्त रिहा नगरेसम्म प्रतिबन्ध कायम नै रहने अमेरिकाले जनाएको छ । 

 

बेलारुसमा राजनीतिक बन्दीहरुमाथि अमानवीय व्यवहार गरिएको र उनीहरुको प्रतिनिधित्व गर्ने कानुन व्यवसायीको पनि इजाजतपत्र खोसिएको तथा जेलमा हालिएको अमेरिकाले जनाएको छ । बेलारुसको राजनीतिक संकटबाट बाहिर आउन राजनीतिक बन्दीहरुको तत्काल विना शर्त रिहाइका लागि अमेरिका आग्रह गरेको छ । 

 

लुकासेन्कोले सन् १९९४ देखि बेलारुसमा शासन गर्दै आएका छन् । तर, २०२० मा भएको राष्ट्रपतिको चुनावमा उनको उम्मेदवारीको विरोध भएको थियो भने पश्चिमा देशहरुले पनि मान्यता दिएका थिएनन् । तर, लुकासेन्कोले भने आफ्ना विरोधीहरुलाई जेलमा हाल्ने वा देशबाहिर भाग्य बाध्य पारेका थिए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै