Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सिन्धुलीगढी युद्ध हतियार खोज्दै नेपाली सेना

फाइल फाेटाे ।

ब्रिटिस फौजसँग भएको युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आइतबार दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।

 

विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले आज आफ्नो घरमा भएको एउट भाले खुडा र एक थान तरबार तथा भद्रकालीमा हरि थापाको घरमा रहेको भाले खुडा ९ नम्बर बाहिनीपति ध्रुव शाहलाई हस्तान्तरण गरेका हुन्  ।

 

हस्तान्तरणपछि प्रमुख खत्रीले लडाइँका क्रममा प्रयोग भएका घरेल हतियारको खोजी गर्ने काम भइरहेको बताए । नेपाली सेनासँग सहकार्य गरेर नगरवासीका घरमा भएका पुर्ख्याैली घरेलु हतियार सङ्कलन गर्ने र ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध संग्राहलयमा राखिनेसमेत उनले बताए । 

 

यस्तै ९ नम्बर बाहिनीका बाहीनीपति शाहले युद्ध संग्राहलय निर्माणको काम अन्तिमचरणमा पुगेको जानकारी दिए । तत्कालीन अङ्ग्रेजसँगको लडाइँका क्रममा प्रयोग भएका घरेलु हतियारको खोजी गर्ने कार्य भइरहेको उनको भनाइ छ । हालसम्म सात खुडा, खुकरी र एउटा धनुषबाण जम्मा भएको छ ।

 

अङ्ग्रेज फौजलाई हराएको सम्झनामा वर्षेनी २४ कात्तिकमा नगरपालिकाले विजय उत्सव मनाउन थालेको छ । विसं २०६७ मा नेपाल पत्रकार महासंघ जिल्ला शाखाले ओझेलमा परेको सिन्धुलीगढीको प्रचारप्रसार गर्न विजय उत्सव मनाएको थियो । त्यसयता जिल्ला विकास समिति हुँदै हाल स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले गढीको संरक्षण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै