
सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएकी छन् ।
बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुशासन कायम गर्दै भ्रष्टाचारमुक्त बनाउनु रहेको बताएकी हुन् ।
महानगरपालिकाभित्रै भ्रष्टाचार भए आफूले अन्य ठाउँमा सुशासन कायम गर्न नसक्ने भन्दै उनले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरिन् । उनले महानगरको सेवा, सुविधालाई चुस्त, दुरुस्त बनाउने पनि बताइन् ।
‘म सबैभन्दा पहिला के बाट सुरु गर्न चाहन्छु भने, मेयर भनेको काठमाडौंको एकदमै ठूलो पद हो । मेयर हुँदै गर्दाखेरी मैले भन्नैपर्छ, म मेयर भइसकेपछि सबैभन्दा म सुशासनतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । जब घर नै सफा छैन भने, घर नै प्रदूषित छ । घरभित्रै फोहोर छ भने कसरी मैले सुशासन दिन सक्छु ? त्यसकारण म मेयर भएपछि सबैभन्दा पहिला मैले महानगरभित्र भ्रष्टाचारमुक्त सेवा र सुविधा तुरुन्त हुने गरेर चुस्त र दुरुस्त पार्नेछु भनेर म सम्पूर्णलाई विश्वस्त दिलाउन चाहन्छु,’ उनले भने ।
उम्मेदवार सिंहले आफ्नो सात ‘स’ को संकल्पपत्र सार्वजनिक गरेकी छन् । सेवा र सुशासन, स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा, दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति, सम्पदा, र सभ्यता, सबल र समुन्नत पूर्वाधार, सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासीजस्ता संकल्प छन् । संकल्प पत्र सार्वजनिक गर्दै उनले महानगरलाई विधिको शासन, नियम, कानून भित्र रही चलाउने बताइन् ।
भ्रष्टाचारमुक्त, चुस्त सेवाप्रवाह गर्ने उत्कृष्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्ने उनको प्रतिबद्धता छ । त्यसैगरी सबै वडाहरुमा रोकथाम, परीक्षण, उपचार र पुनःस्थापनासहितको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना र विशेषज्ञ सेवासहितको महानगरीय अस्पतालको सञ्चालन गर्ने उहाँले उल्लेख गरिन् ।
ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने उनको भनाइ छ । सिंहले काठमाडौं महानगरलाई ‘जिरो वेस्ट’ नगरपालिका बनाउने घोषणा गरिन् ।
सार्वजनिक खुल्ला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, फल्चा आदीको संरक्षण, पुर्नस्थापना तथा विस्तार गरिने उनको भनाइ छ । त्यस्तै गरी महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्नसक्ने र हिडडुल गर्न सक्ने शहरको निर्माण गर्ने उनको संकल्प छ ।
विपद थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्ने उनले बताइन् । सिंहले महानगरभित्रको संस्कृतिलाई पर्यटन सँग जोड्ने उल्लेख गरिन् । गुठि प्रणालीको संरक्षण र प्रवद्र्धन गर्दै दिगो विकासको लागि प्रतिवद्ध रहेको पनि स्पष्ट पारिन् ।
त्यसैगरी युवाका लागि अवसर, महिलाको सशक्तीकरण र महानगरबासीको सिर्जनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी गर्ने उनको प्रतिवद्धता छ । उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्ने उनले बताइन् । उनले सुकुम्बासीको समस्या समाधान गर्ने पनि जनाइन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit