Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

स्थानीय तह निर्वाचनबारे सरोकारवाला निकायबीच छलफल 

गृह मन्त्रालयमा सोमबार स्थानीय तह निर्वाचन पूर्वका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आँकलन तथा व्यवस्थापनबारे छलफल भएको छ । 

 

 

उक्त कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासीनी, संघीय मामला तथा सामान्य प्रशासनसचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्दप्रसाद निरौला, प्रवक्ता प्रदीपकुमार कोइराला र नीति योजान अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा भीष्मकुमार भूसाललगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रमको अध्यक्षता गृहमन्त्री खाणले गरेका थिए । 

 

 

गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोत साधनबारे छलफल भएको बताएका छन् । 

 

 

‘आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गरिने सुरक्षा व्यवस्था र आउँदै गरेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भयो’ उनले भने ।

 

 

बैठकमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्ने कि दुई पटक गरेर गर्ने भन्ने विषयमा छलफल भएको पनि उनले जानकारी दिएका छन् ।

 

 

उक्त कार्यक्रममा गृहमन्त्रीले र सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनमा मतदाता र मत पेटिकाको सुरक्षाबारे धारणा राखेका थिए । अर्थसचिव मरासीनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराएका थिए । संघीय मामलामन्त्री श्रेष्ठ र सचिव अधिकारीले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी र मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने कर्मचारीबारे छलफलमा धारणा राखेका थिए ।

 

 

आइतबार १२ माघमा हुन गइरहेको राष्ट्रिय सभाका १९ पदको निर्वाचनमा सुरक्षाबारे गृहमन्त्री खाणले सुरक्षा समितिको बैठकमा छलफल पनि गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै