
संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतका बाह्य मामिलामन्त्री डा. एस जयशंकरबीच आज भेटवार्ता भएको छ ।
सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।
‘दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ ले नेपाल र भारतका जनताको जीवन र आजीविकामा निम्त्याएको चुनौतीको मिलेर सामना गर्न सहमति जनाउनु भयो,’ नियोगले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
मन्त्री डा. खड्काले नेपालको सामाजिक, आर्थिक विकासका निम्ति भारत सरकारबाट निरन्तर प्राप्त सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको विज्ञप्तिमा जनाइएको छ ।
आजै मन्त्री डा. खड्काले नेपालको महावाणिज्य दूतावासको निरीक्षण गरी प्रभावकारी ढंगले कन्सुलर सेवा प्रवाह गर्न तथा आर्थिक, कूटनीतिलाई विशेषरुपमा अघि बढाउन निर्देशन दिए ।
मन्त्री खड्का गैरआवासीय नेपाली संगठनले आयोजना गरेको अर्को कार्यक्रममा सहभागी भई मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा लगानी जुटाउन आह्वान गरेको पनि उक्त नियोगले जनाएको छ ।
महासभालाई स्थानीय समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री डा. खड्का नेतृत्वको प्रतिनिधिमण्डल मंगलबार स्वदेश फर्कनेछ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit