
भारत सरकारको अनुदान सहयोगमा मुस्ताङ जिल्लाको लोमान्थाङ गाँउपालिका–३ छोनहुपस्थित श्रीपाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नति गरिएको छ ।
शुक्रबार भारतीय राजदूतावासकी कार्यवाहक राजदूत नामग्य सी खम्पाले उक्त विद्यालय भवनको उद्घाटन गरेकी छिन् ।
उद्घाटन समारोहमा सो विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरुप प्रदान गरिएको थियो ।
‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल नेरु २ करोड ६३ लाखको लागतमा यस स्तरोन्नत संरचनाको निर्माण भएको हो ।
जिल्ला समन्वय समिति मुस्ताङले यस परियोजनाको कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरु मध्येको एक हो ।
सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् ।
तीमध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit