Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

निजगढ विमानस्थलबारे सर्वोच्चको आदेशमा मन्त्री झाँक्रीको आपत्ति, न्यायाधीशलाई दिइन् यस्तो चुनौती

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् ।
शुक्रबार नयाँ सहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गरेको निर्णय हो भन्दै प्रश्न गरिन् । 

 

उनले अदालतले रुख फाँड्ने कुरा, जग्गा अतिक्रमण गरेर बसेकाहरुको कुरालाई समातेर गरेको निर्णय भए त्यसको विकल्प खोज्न सकिने तर यो निर्णय कसैको प्रभावमा आएर गरेको निर्णय भएको आरोप लगाइन् । 

 

मन्त्री झाँक्रीले सबै न्यायाधीशहरु प्रधानन्यायाधीश हुने लाइनमा रहेको भए संसदमा आएर फेस गर्नसमेत चुनौती दिइन् । उनले सरकारले विमानस्थलको बुटा मात्रै काट्ने निर्णय गरेको हो भने मात्रै सर्वोच्चको यो निर्णय सही हुनसक्ने बताइन् ।

 

‘अदालतले निजगढ नबनाउ भन्यो । अदालतले निजगढ एयरपोर्ट नबनाउ भन्दै गर्दा कुन कुरालाई समातेर निर्णय भएको छ भन्ने कुरा हेरौँ । ८ हजार कि कति हेक्टरमा रुख फाँड्ने कुरालाई भनेको छ भने त्यसको विकल्प दिन सकिन्छ । त्यहा अव्यवस्थित ढंगले जग्गा अतिक्रमण गरेर बसेकाको अधिकारलाई टेकेर त्यो कुरा गरेको हो भने त्यसको अर्को उपचार गर्न सकिन्छ । यदी त्यहाँ एयरपोर्ट चल्दैन भन्छ भने त्यसको बारेमा अर्को उपचार गर्न सकिन्छ । तर न्यायालय पनि आज प्रश्न भन्दा बाहिर छैन नि । प्रत्येक न्यायाधीशहरु यदी प्रधानन्यायाधीश हुने लाइनमा छन् भने पाल्र्यामेण्टमा आएर फेस गर्नुपर्छ । त्यो भनेको पब्लिकलाई फेस गर्नु हो । हाम्रो संविधानमा भएको धेरै राम्रो व्यवस्था हो यो ।  यो पहिलोपटक भयो अन्तरिम संविधान निर्माण यता । त्यसैले श्रीमानहरुले गरेको निर्णय सम्मानित अदालतको आदेश सरकारले मान्छ तर तपाईहरुले कुन कुरा, कुन प्रिन्सिपललाई टेकेर निर्णय गर्नुभयो ? सरकारको भेष्टेट इन्ट्रेस बुटामात्रै काट्ने छ भने अदालतले गरेको निर्णय ठिक हो । नेपालमा अर्को ठाउँमा शहर विकास गर्ने, अन्तर्राष्ट्रिय अर्को एयरपोर्ट बनाएर ट्रान्जिट गर्न सहज बनाउने हो भने श्रीमानहरु यो निर्णय गर्दा कतैबाट प्रभावित पो हुनुभयो कि ? निवेदकहरु कतैबाट प्रभावित भएर यो काम गरिाख्नुभएको छ कि ? हामीले यहाँबाट हेर्नुपर्छ,’ मन्त्री झाँक्रीले भनिन् ।

 

मन्त्री झाँक्रीले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार संसदमा गरेको सम्बोधनमाथि पनि प्रश्न उठाइन् । उनले अध्यक्ष ओलीले गरेको सम्बोधनको कुनै तुक नरहेको टिप्पणी गरिन् । मन्त्री झाँक्रीले गफले मात्रै देशको समृद्धि हुननसक्ने भन्दै साढे तीन घण्टा बोल्न आफूले पनि सक्ने बताइन् । 

 

उनले कुर्सीमा बसेर अध्यक्ष ओलीले गरेको सम्बोधनप्रति लक्षित गर्दै आफू बोलेरै आएको हुनाले साढे तीन घण्टा बोल्न कुनै गाह्रो नभएको र कुर्सीमा नबसीकनै बोल्न सक्ने भन्दै व्यंग्य गरिन् । 

 

मन्त्री झाँक्रीले नीति नियमको दुरुपयोगका कारण चक्रपथ बाहिरको सडक नबनेको दाबी गरिन् । उनले बञ्चरे डाँडामा फोहोर फाल्न नदिने काम काठमाडौंवासीहरुले नै त्यहाँको जग्गा किनेर स्थानीयलाई उचालेको आरोप लगाइन् । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै