Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

एकअर्काको खुट्टा तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्छौं : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

 

उपमेयर डंगोलले एकअर्काको खुट्टाको तान्ने प्रवृत्तिभन्दा माथि उठेर काम गर्ने आफ्नो योजना रहेको पनि बताइन् । उनले आफूहरुबाट गल्ती हुन नदिन आम मतदाताले खवरदारी गरिरहने विश्वास समेत व्यक्त गरिन् । 

 

शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मतपरिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारीबोधको रुपमा लिएको प्रतिक्रिया समेत दिइन् । 

 

आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन पनि सबै मतदाताहरुलाई आह्वान गरिन् । 

 

उपमेयर डंगोलले आफूहरुको जीतले युवाहरुमा आशाको दीप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढता समेत व्यक्त गरिन् । ‘यो जीतलाई मैले उत्साहभन्दा पनि जिम्मेवारीको रुपमा लिएको छु । यो जिम्मेवारीलाई कर्तव्यनिष्ट भई इमान्दारितपूर्वक काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा काम गर्ने प्रतिवद्धता पनि यहाँहरुमाझ जाहेर गर्न चाहन्छु । यसको साथसाथै काठमाडौं महानगरपालिकालाई सुरुको दिनदेखि नै भन्दै आएको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित सांस्कृतिक नगरी बनाउने यो अभियान आजबाटै सुरु भएको छ, औपचारिक रुपमा,’ उनले भनिन् ।

 

‘यो अभियानमा जसरी यहाँहरुले युवाहरुलाई विश्वास गर्नु भएको छ । राजनीतिलाई फोहोरी खेल भन्ने युवा जमात बढिरहँदा यो जीतले केही न केही आशाको किरण, आशाको दीप थपिदिएको छ । र, यो आशाको दीपलाई निभ्न दिनेछैन । यसका लागि यहाँहरुलाई पनि साथ दिनुपर्छ । एक÷अर्काको खुट्टा तान्ने प्रवृतिबाट माथि उठनुपर्छ । म भन्ने शब्दभन्दा माथि उठनु पर्छ । हामी भएर काम गर्नुपर्छ । गल्ती भए सुधारका लागि खवरदारी गर्नुहोला,’ डंगोलले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै