
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको बताएका छन् । बुधबार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सवमा कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रको बाह्य क्षेत्रमा केही दबाब रहेको बताएका हुन् ।
राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनीमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल गरिरहेको अधिकारीले बताए । पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँदै गएको उनले बताए ।
आर्थिक गतिविधि बढ्दै गएसँगै अर्थतन्त्रमा केही सुधार हुने संकेत देखिएको उनको भनाइ छ।
गभर्नर अधिकारीले कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महँगी बढ्न सक्ने बताए ।
त्यस्तै, राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंक डिजिटल मुद्रा चलाउने बाटोमा गएको बताए । उनले कागजको नोट प्रचलनमा ल्याउन स्थापना भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल मुद्रातर्फ अघि बढेको बताएका हुन् । अर्थतन्त्र बाहृय क्षेत्रको कारण दबाबमा परेको मिश्रले बताए ।
उनले बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको बताए । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने मिश्रको भनाइ छ । अब आर्थिक गतिविधि चलायमान हुने उनले बताए ।
पछिल्लो समय कोरोना संक्रमणको दर कम हुँदै गएकोले अब आर्थिक चलायमान हुने विश्वास व्यक्त गरे । कार्यक्रममा पूर्वगभर्नर डा. तिलकबहादुर रावललाई सम्मान गरिएको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit